डडेल्धुरा- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्दको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।
सोमबारदेखि १७औं चरणको सत्याग्रह सुरु गरेका केसीको तेस्रो दिन स्वास्थ्यमा समस्या देखिँदै गएको चिकित्सकहरूले बताएका छन्।
आज बिहान मात्रै दुई पटक उनको स्वास्थ्य जाँच गरिएको छ। उनको रक्तचाप तलमाथि भइरहेको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा. जितेन्द्र कँडेलले बताए।
उनले भने, ‘उहाँको ब्लड प्रेसरमा समस्या भइरहेको छ। आज बिहान जाचँ गर्दा ९०/६० पुगेको थियो। तल माथि भइरहेको छ। उहाँले अहिले कमजोर फिल गर्नुभएको छ।’
केसीको स्वास्थ्यमा समस्या बढ्ने देखिएपछि उनलाई निजी घरबाट डडेल्धुरा अस्पताल सार्ने तयारी गरिएको छ। निमित्त मेसु डा.कँडेलले भने, ‘जनशक्ति अभावले निजीघरमै स्वास्थ्यकर्मी खटाउन सकिँदैन। ल्यावको पारामिटरमा सरको अवस्था कमजोर नै देखियो भने अस्पतालमै ल्याउँछाैं।’
७ बुँदे माग राखी कार्तिक १८बाट अनसन बसेका केसीले कोहीसँग बोल्न मानिरहेका छैनन्।
चिसो कोठा र मौसमका कारण केसीलाई बढी असर परिरहेको डडेल्धुरा अस्पतालका चिकित्सकहरुको भनाइ छ। डडेल्धुरा अस्पतालबाट १०० मिटरको दुरीमा निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा डा केसी अनसनरत छन्।
उनले थालेको अनसन कक्षामा पुगेर समर्थन जनाउनेको संख्या १ सय ९० पुगेको छ।
मंगलबार सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका पार्टी सभापति कर्णबहादुर मल्लले कार्यकर्तासहित अनसनरत डा. केसीलाई भेटेर उनको सत्याग्रहप्रति एकेबद्धता जनाएका छन्। उनले डा. केसीलाई भेटेर पवित्र महाअभियानमा डडेल्धुरा कांग्रेसको साथ रहेको बताए।
साथै उनले सम्पूर्ण सुदूरपश्चिमवासीमा गरिबको स्वास्थ्यको लागि थालिएको अभियानमा सहयोग गर्न अनुरोध समेत गरेका छन्।