डडेल्धुरा– सुदूरपश्चिम प्रदेश सरकारले १६ अत्याधुनिक एम्बुलेन्स वितरण गरेको छ। झन्डै सवा ६ करोडमा ठेक्का प्रक्रियाबाट खरिद गरिएका ती एम्बुलेन्स ९ वटै जिल्लाका १६ अस्पताल र स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता हेमराज खडकाले बताए।
बुधबार धनगढीमा एक कार्यक्रमको आयोजना गरी स्थानीय तहका जनप्रतिनिधिमार्फत एम्बुलेन्स वितरण गरिएको हो। एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले अब सुदूरपश्चिम प्रदेशका दूरदराजमा बस्ने नागरिकले एम्बुलेन्सको अभावमा ज्यान गुमाउनु नपर्ने बताए।
उनले अत्याधुनिक एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले नियमित अनुगमन र निगरानी गर्ने जानकारी दिए। नयाँ वितरण गरिएका १६ वटा एम्बुलेन्समा फुल एसीसहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सिजन सिलिन्डर, स्वास्थ्य र सुरक्षाका अन्य थुप्रै उपकरण लगायतका सुविधा रहेका छन्।
चालकलाई पनि तालिम दिएपछि मात्रै एम्बुलेन्सको प्रयोग गरिने मन्त्रालयले जनाएको छ। तालिम दिन समय लागेकाले एम्बुलेन्स विरणमा ढिला भएको मन्त्रालयको दाबी छ।
सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र कमल बजार अछाम, जोगबुडा अस्पताल डडेल्धुरा, जिल्ला अस्पताल दार्चुला, बैतडी र बझाङ, टाटे स्वास्थ्य चौकी बाजुरा, रुद्रेश्वर स्वास्थ्य चौकी बैतडी, खार स्वास्थ्य चौकी दार्चुला, रायल स्वास्थ्य चौकी बझाङ, नवदुर्गा स्वास्थ्य चौकी डडेल्धुरा, डोटीमा जिल्ला अस्पताल र चवराचौतार स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल, बाब्ला स्वास्थ्य चौकी, बान्नीगढीमा एम्बुलेन्स वितरण गरेको हो।