काठमाडौं – विवादै विवादका कारण अन्यौलमा रहेको नेपाल स्वास्थ्यकर्मी संघको ७औं महाधिवेशन अन्तत हुने भएको छ। संघको अधिवेशन २२ र २३ गते गर्ने निर्णय भएको छ।
पटक पटकको छलफल र वार्तापछि संघ अधिवेशन गर्ने निर्णयमा पुगेको हो। संघका हालका अध्यक्ष रामजी घिमिरेले संघमा मनपरी गरेको र जथाभावी रुपमा सदस्य थप गरेको भन्दै सदस्यहरुले आपत्ती जनाउँदै आएका थिए।
काठमाडौंमा वितरण गरिएको सदस्यका विषयमा छानबिन गर्ने र केही जिल्लामा सदस्य प्रदान गर्ने सहमति भएपछि संघको अधिवेशन गर्ने टुंगो लागेको हो।
संघको अधिवेशन काठमाडौंमा नै हुनेछ। अधिवेशनका लागि देशभरबाट ६ सय ५० प्रतिनिधि काठमाडौंमा उपस्थित हुनेछन्। संघमा अहिले १८ हजारभन्दा बढी सदस्य रहेका छन्। उनीहरुका तर्फबाट प्रतिनिधित्व गर्दै ६ सय ५० प्रतिनिधि राजधानी आउने छन्।
यी प्रतिनिधीहरुले संघको नयाँ कार्यसमिति चयन गर्नेछ।
संघको अध्यक्षमा हालका अध्यक्ष घिमिरे सहित सहअध्यक्ष ओमप्रसाद उपाध्याय चुनावी मैदानमा उत्रने बताइएको छ।
घिमिरेले संघमा रहँदा एक्लौटी ढंगले काम गरेको, पिएसआइको तालिम तथा अवसरमा आफू मात्र जाने गरेको, संघको भन्दा व्यक्तिगत हितमा लागेको आरोप सदस्यहरुले लगाउँदै आएका छन्।
घिमिरेले एउटै नाममा दुईवटा संस्था दर्ता गरेको समेत फेला परेको छ।