काठमाडौं– स्वास्थ्यकर्मीले समायोजनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजनीतिक पूर्वाग्रह राखेको गुनासो गरेका छन्।
नेपाल स्वास्थ्यकर्मी संघको ७औँ अधिवेशनमा देशभरबाट आएका स्वास्थ्यकर्मीहरुले मन्त्रालयले फरक पार्टीमा आस्था राख्ने कर्मचारीलाई राजनीतिक पूर्वाग्रही बन्दै दुःख दिएको बताएका हुन्।
संघको अधिवेशनको उद्घाटनका लागि आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा शंशाक कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलसमक्ष स्वास्थ्यकर्मीहरुले समायोजनमा राजनीति हावी हुँदा समस्यामा परेको भन्दै ध्यानाकर्षण गराए।
‘समायोजन न्यायपूर्ण भएको छैन, राजनीतिक हस्तक्षेप भएको छ। स्वास्थ्यकर्मीमा देखिएको समस्याबारे स्वास्थ्यमन्त्रीलाई समेत जानकारी छैन,’ अधिवेशनमा उपस्थित स्वास्थ्यकर्मीले भने।
उनहरुले समायोजन ऐनमा स्वास्थ्यकर्मीलाई ठगिएको गुनासो गरे। भने, ‘ऐनले निजामति कर्मचारीलाई एक तह बढुवा गरी समायोजन गर्ने तर स्वास्थ्यकर्मीलाई नगर्ने विभेदकारी व्यवस्था गरेको छ।’
सुर्खेतबाट आएका स्वास्थ्यकर्मी राजेशकुमार बुढाले स्वास्थ्यकर्मी संघले समेत समायोजन, सरुवा, पदस्थापना, तलबभत्ताका सन्र्दभमा अपेक्षित रुपमा भूमिका निर्वाह गर्न नसकेको गुनासो गरे।
स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालयले गुनासो समेत सम्बोधन नगरेको भन्दै दुःख व्यक्त गरेका छन्।
‘४ जना दरबन्दी भएको ठाउँमा ११ जनाको समायोजन गरिएको छ। जिम्मेवारी, कहाँ, हामी कहाँ अटाउने, कसरी पुरा गर्ने? पटकपटक मन्त्रालयमा गुनासो दर्ता गराएको छ। तर सम्बोधन हुँदैन,’ जनकपुरबाट आएका स्वास्थ्यकर्मी दयानन्द ठाकुरले भने।
उनले सरकारले अवैज्ञानिक रुपमा समायोजन गरेको गुनासो गरे। उनले भने, ‘स्वास्थ्यकर्मीको संघको अगुवाइमा समायोजनमा अन्याय भयो भनेर डेलिगेसनमा पनि गयाँै तर मन्त्रालय तर स्वास्थ्य संस्था खाली गरी राजधानीमा आन्दोलन नगरेसम्म नसुन्ने रहेछ।’
जुम्लाबाट संघको अघिवेशनका लागि भनेर काठमाडौं आएकी महिला स्वास्थ्य स्वयंसेविका शान्तिदेवी शाहीले पछिल्लो समय कुनै तालिम, स्वास्थ्य समस्याबारे पछिल्ला जानकारी पाउन नसकेको बताइन्।
उनले भनिन्, ‘गाउँपालिका बनेपछि त महिला स्वास्थ्य स्वयंसेविकालाई झन् गाह्रो छ काम गर्न। न तालिम, न गोष्ठी स्वास्थ्य, नयाँ कुरा नै थाहा हुँदैन।’
स्वास्थ्यकर्मीका गुनासा सुनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको समय प्रजातन्त्रमा विश्वास राख्नेहरुका लागि चुनौती भएको बताए।
उनले भने, ‘स्वास्थ्यकर्मी जनताका सबैभन्दा नजिकका सेवक हुन्। जनताको स्वास्थ्य सेवासँग जोडिएको विषयमा वर्तमान सरकार राजनीतिक पूर्वाग्रही बन्नु आपत्तिजनक छ।’
उनले वर्तमान सरकारले प्रजातन्त्रमा विश्वास राख्ने कर्मचारीलाई दुःख दिएर कांग्रेसलाई चिढ्याउन खोजेको बताए। उनले भने, ‘अहिलेको समय चुनौतीपूर्ण छ। जहाँ हुनुहुन्छ, जनताको सेवा गर्न नछोड्नुस्। फेरि हाम्रो समय आउँछ।’
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले राजनीतिक पूर्वाग्रह राख्दा राजनीतिक उद्देश्य पूरा भए पनि जनताको सेवा पाउने अधिकारबाट बन्चित बनाएको बताए।
‘गरिबीलाई हेर्ने, दिनदुःखीको कुरा बुझ्ने पार्टी भन्दै चुनाव जितेको वर्तमान सरकारले अहिले केही सीमित वर्गको लागि मात्र काम गरेको छ। जुन आपत्तिजनक छ। यसले स्वास्थ्य, शिक्षाजस्ता सेवाबाट जनतालाई टाढा बनाइरहेको छ,’ उनले भने।