धरान- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नियमित सिनेट बैठक नभएको डेढ वर्ष बितिसक्यो। शुक्रबार हुने तयारी गरिएको ४३औं सिनेट बैठक पनि अन्तिम अवश्थामा आएर स्थगित भएको छ।
सिनेट अध्यक्ष समेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बैठक स्थगित गर्न निर्देशन दिएपछि अन्तिम अवश्थामा स्थगित भएको एक सिनेट सदस्यले जानकारी दिए। उनका अनुसार शुक्रबार सिनेट बैठकका लागि सबै सिनेट सदस्य काठमाडौं पुगेका थिए। सिनेट बैठकका लागि सबै एजेन्डाहरू फाइनल भएका थिए। तर, स्वास्थ्यमन्त्रीले रजिष्ट्रार बिना बैठक हुन नसक्ने अडान लिएपछि स्थगित भएको हो। प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठ भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि प्रतिष्ठान रजिष्ट्रारबिहीन छ भने तत्कालीन उपकुलपति डा.राजकुमार रौनियार पनि घुस रकमसहित अख्तियार टोलीबाट पक्राउ परेपछि रेक्टर गुरुप्रसाद खनाललाई कार्यबाहक उपकुलपतिको जिम्मेवारी दिइएको छ।
प्रतिष्ठानमा लामो समयदेखि निर्माणाधीन अवश्थामा रहेको मातृशिशु भवन, फ्याक्ली प्रोमोसन, तलब, बजेट लगायतका एजेन्डा सिनेट बैठकका लागि तयार गरिएको थियो। लामो समयदेखि तयारी गरिएको सिनेट बैठक बिहीबार अन्तिम समयमा स्वास्थ्यमन्त्रीले रोक्न दबाव दिएका थिए।
प्रतिष्ठानको ऐनमा सिनेट बैठकमा रजिष्ट्रार हुनुपर्ने व्यवस्था नरहेको अर्का सिनेट सदस्यले बताए। सिनेटको सदस्य सचिव उपकुलपति हुने व्यवस्था छ।
अब सिनेट बैठक कहिले बस्ने भन्ने टुङ्गो छैन। नयाँ बैठकका लागि कम्तिमा तीन हप्ता अघिनै पत्राचार गर्नुपर्ने हुन्छ।
सिनेट बैठक स्थगित भएपछि प्रतिष्ठानका कर्मचारी आक्रोशित छन्। प्रतिष्ठानका वरिष्ठ प्रशासन सहायक महेश्वर राईले फेसबुकमा ‘प्रतिष्ठानका सह–उपकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डा.बिएन यादवलाई रजिष्ट्रार जबरजस्ती बनाउन दबाब दिँदै आएको र सोहीकारण सिनेट बैठक स्थगित भएको’ भनेर लेखेका छन्।
प्रतिष्ठानका कर्मचारी मात्र होइन, बैठकका लागि काठमाडौं पुगेका सिनेट सदस्यहरू पनि स्वास्थ्यमन्त्रीले डा.बिएनलाई रजिष्ट्रार बनाउन दबाव दिएका कारण बैठक स्थगित भएको बताउँछन्।
हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा रेक्टर रहेका डा.बिएन प्रतिष्ठानका विवादित व्यक्ति हुन्। तर उनी स्वास्थ्यमन्त्रीसँग पहिल्यैदेखि निकट छन्।
प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा.गुरु खनाल मन्त्रालयले रजिष्ट्रार नभई सिनेट बैठक बस्दा कानुनी समस्या आउन सक्ने भन्दै स्थगित गर्ने निर्णय गरेको बताउँछन्। उनी भन्छन्, ‘अब प्रक्रियामा गएर गर्दा कहिले हुन्छ टुङ्गो छैन।’