काठमाडौं- नेपाल स्वास्थ्यकर्मी संघको नयाँ कार्यसमितिको निर्वाचन आइतबार बिहान हुने भएको छ। चुनाव बिहान ८ बजेबाट सुरु हुने बताइएको छ।
संघको कार्यसमितिमा पदाधिकारी दाबी गर्नेको संख्या भने क्रमश घट्दै गएको छ। धेरै पटकको छलफलपछि अध्यक्ष र महासचिवमा दुई दुई जना चुनावी मैदानमा उत्रने देखिएको छ। सहमतिमा कार्यसमित चयन गर्ने सम्भावना नभएपछि निर्वाचन हुने पक्का भएको छ।
संघको अध्यक्षका लागि यसअघि चार जनाले आआफ्नो दाबी गरेका थिए। तर, अहिले भने चुनावी मैदानमा ओमप्रसाद उपाध्याय र रामजी घिमिरे मात्र देखिएका छन्।
अध्यक्षका दावेदार कृष्ण नागिला र धनप्रसाद पौडेलले अध्यक्षमा उठेका ओमप्रसाद उपाध्यायलाई सहयोग गर्ने भन्दै मैदानबाट बाहिरिएपछि २ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
घिमिरे हालका अध्यक्ष समेत हुन्। तर उनी विभिन्न विवादमा मुछिएका छन्। संघको २ कार्यकाल अध्यक्ष रहँदा घिमिरेले व्यक्तिगत स्वार्थमात्र हेरेको संघका सदस्यहरुको आरोप छ।
यस्तै, संघको महासचिवमा पनि दुई जना चुनावी मैदानमा देखिएका छन्। दीपक प्रसाद भट्ट र शंकर कँडेल महासचिवका लागि प्रतिस्पर्धामा उत्रने पक्का भएको छ।
संघको वरिष्ठ उपाध्यक्षमा भने तीन जानको प्रतिस्पर्धा हुने देखिएको छ। संघका हालका महासचिव दीपक मुडभरी वरिष्ठ उपाध्यक्षमा उठेका छन्। यस्तै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह र भवानी शर्मा पनि प्रतिस्पर्धामा उत्रने पक्का भएको छ। साह र शर्मा अध्यक्ष घिमिरे प्यानलका हुन्। घिमिरेले साहलाई उठाउने निर्णय गरेपछि शर्माले स्वतन्त्र रुपमा उठ्ने निर्णय गरेका हुन्।
यस्तै, संघको कोषाध्यक्षमा राजकुमार तिवारी र सुरेश पासवानबीच प्रतिस्पर्धा हुने देखिएको छ।
हरेक चार वर्षमा हुनुपर्ने संघको चुनाव दुई वर्ष ढिला गरी हुन लागेको हो। संघका वर्तमान अध्यक्ष घिमिरेकै कारण अधिवेशन हुन नसकेको पनि संघका सदस्यहरुको आरोप छ।
अधिवेशनका लागि देशभरबाट ६ सय ५० प्रतिनिधि हुने बताइएको छ। प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भइसकेको छ।
संघमा अहिले १८ हजारभन्दा बढी सदस्य रहेका छन्। उनीहरुका तर्फबाट प्रतिनिधित्व गर्दै ६ सय ५० प्रतिनिधि राजधानी आउने छन्। यी प्रतिनिधीहरुले संघको नयाँ कार्यसमिति चयन गर्नेछन्।