काठमाडौं- नेपाल स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न भएकाे छ। मतदान प्रकृयामा ५७२ मत खसेकाे छ। ८ बजेदेखि सुरु भएकाे मतदान १२ बजे सकिएकाे थियाे। मत गणना अझै सुरु भएकाे छैन। आज साँझसम्म संघको नयाँ नेतृत्वको चयन हुने बताइएकाे छ।
देशभरबाट आएका करिब ७७१ मतदाताले संघको नयाँ नेतृत्वका लागि मतदान गरेका थिए। नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष रामजी घिमिरे र सह अध्यक्ष ओमप्रसाद उपाध्यायबीच प्रतिस्पर्धा हुँदैछ। सहमतिमा कार्यसमिति चयन गर्ने प्रयास गरिएकाे भएपनि सम्भव नभएपछि निर्वाचन भएकाे हाे।
दुई कार्यकाल संघको नेतृत्व गरेका घिमिरे पछिल्लो समय विवादित बनेका छन्। उनले लोकतान्त्रिक पद्दति अनुसार दुई कार्यकाल नेतृत्व गरिसकेकाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने धेरै स्वास्थ्यकर्मीले प्रतिक्रिया दिएका थिए।
महासचिवका लागि दीपक प्रसाद भट्ट र शंकर कँडेलबिच प्रतिस्पर्धामा भइरहेकाे छ। संघको वरिष्ठ उपाध्यक्षमा भने तीन जनाको प्रतिस्पर्धा हुने देखिएको छ।
संघका हालका महासचिव दीपक मुडभरी वरिष्ठ उपाध्यक्षमा उठेका छन्। यस्तै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह र भवानी शर्मा पनि प्रतिस्पर्धामा उत्रिएका छन्।
महिला उपाध्यक्षमा रमिला चौलागाईँ र मिरा नेपाल छन् भने कोषाध्यक्षमा राजकुमार तिवारी र सुरेश पासवानले उम्मेद्वारी रहेकाे छ।