काठमाडौं- चिकित्सा शिक्षा सुधारक लागि डडेल्धुरामा अनसनरत डा गोविन्द केसीलाई सरकारले काठमाडौं ल्याउने तयारी गरेको छ। अनसनका कारण डा केसीको स्वास्थ्यमा समस्या आएपछि सरकारले उनलाई काठमाडौं ल्याउन लागेको हो।
तर, डा केसीले आफू जबरजस्ती नजाने बताएका छन्। उनले सरकारलाई आफ्ना माग पुरा गरे आफू अनसन छाड्न तयार रहेको बताए।
'सरकारलाई मेरो स्वास्थ्यको चिन्ता लागेको भए मेरो माग पुरा गरे भइहाल्यो नि', उनले भने, 'यसरी जबरजस्ती किन सार्नुपर्छ। जबरजस्ती सार्ने दुख नगर्नुहोस मेरो माग पुरा गर्नुहोस म अनसन छाड्छु।'
अनसनका कारण डा केसीको शरीरमा सुगर र अक्सिजनको मात्रा कम भएको भन्दै चिकित्सकहरुले तत्कालै आइसियु भएको स्थानमा सार्न सुझाब दिएका छन्। डा केसीको रक्तचापमा पनि समस्या आएको छ। यस्तै उनको मिर्गौलमा पनि समस्या देखिन थालेको चिकित्सकले बताएका छन्।
तर, डा केसी भने आफू डडेल्धुरामा नै मर्न तयार रहेको तर माग पुरा नभएसम्म डडेल्धुरा नछाड्ने अडानमा छन्।
डा केसीसँगको सहमति विपरित काठमाडौं लैजान लागेको भन्दै स्थानियले पनि डडेल्धुरामा प्रदर्शन गरेका छन्। उनीहरुले पनि डा केसीको माग पुरा गर्न माग गरेका छन्।
डा केसी ७ बुँदे माग राख्दै १८ गतेदेखि अनसनमा छन्।