काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सिंगो देश लिपुलेकको विषयतर्फ हुँदा डा गोविन्द केसीलाई अनसनमा नरहन आग्रह गरेका छन्।
शिक्षा मन्त्रालयसँग सम्बन्धित विषयमा अनसन बस्न नहुने बताउँदै उनले डा केसीको अनसन असान्दर्भिक रहेको जनाए। उनले भने, ‘सिंगो देश कालापानीका विषयमा केन्द्रीत छ । नयाँ बहश उठिरहेको छ । यस्तो बेला अनसन बस्नु उपयुक्त होइन।’
डा केसीको शिक्षा मन्त्रालयसँग सम्बन्धित माग सम्बोधन भइरहेकाले अनसन आफ्नो मन्त्रालयसँग मात्रै नजोडिएको उल्लेख गरे। उनले भने, ‘उहाँकै मागअनुसार चिकित्सा शिक्षा ऐन बनेर लागु हुने क्रममा छ। लागु नभएको भए अनसन गर्न सुहाउँथ्यो।’ डा केसीका कतिपय माग अरु मन्त्रालयसँग जोडिएको उनले बताए।
उनको बिग्रदो स्वास्थ्य अवस्थाप्रति आफू सचेत रहेको उल्लेख गर्दै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग कुराकानी भएको बताए। उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था राम्रो छैन । यस विषयमा कुराकानी भएको छ।’
विभिन्न माग राखेर डा केसी केही दिनदेखि डडेलधुरामा अनसनरत छन्। उनको स्वास्थ्य अवस्था खराब हुँदै गइरहेको चिकित्सकहरुले बताएका छन् ।