काठमाडाैं- गैरकानुनी शुल्क फिर्ता नभएको बिरोधमा आन्दोलनरत विद्यार्थीहरुले चितवन मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्समा तालाबन्दी गरेका छन्।
विद्यार्थीले युनिभर्सल कलेजको शैक्षिक भवनमा सोमबारबाट अनिश्चितकालीन तालाबन्दी गरेका हुन।
चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा आइतबार चितवन मेडिकल कलेजका विद्यार्थीले पनि कलेजमा तालाबन्दी गरेका छन्।
सरकारले तोकेको शुल्कविपरीत उक्त मेडिकल कलेजले बढी रकम उठाएको विद्यार्थीले भन्दै गत माघदेखि एमबिबिएस र बिडिएसमा अध्ययनरत विद्यार्थीले आन्दोलनरत छन्।
सरकारले बढी शुल्क लिएका कलेजहरुलाई उठाइएको बढी शुल्क फिर्ता गर्न पटकपटक अनुरोध गरेपनि कलेजले अटेरी गरिरहेका छन्। विद्यार्थीले आन्दोलन थालेपछि मेडिकल कलेजहरूको पठनपाठन अवरुद्ध छ।
‘बढी शुल्क फिर्ताका लागि आन्दोलन तथा प्रशासनमा पटकपटक अनुरोध गर्दा सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको हो,’ संघर्ष समितिका संयोजक प्रकाश चन्दल बताए। बढी लिइएको शुल्क फिर्ता नभएसम्म ताला नखाेल्ने उनले बताए।
यता, सरकारले रकम फिर्ता गर्न अटेरी गरेपछि निजी मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका गुनासो सम्बोधन गर्न अन्तिम अल्टिमेटम दिएको छ। सोमबार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले पत्रकार सम्मेलन गर्दै आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने चेतावनी दिएको हाे।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्र गिरिराजमणि पोखरेलले त्रिभुवव विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको बताए।
बैठकमा ठगी मुद्दा चलाउनका लागि गृह मन्त्रालयलाई चिठी लेखेर पठाउने समेत निर्णय भएको छ। सरकारले भनेको छ, ‘विद्यार्थीसँग तोकिए भन्दा बढी रकम लिएको भए १५ दिनभित्र फिर्ता गर्न गराउन सूचित गरिन्छ। सम्बन्धित मेडिकल कलेजले उक्त समयभित्र रक फिर्ता वा समायोजन नगरे कारबाही गरिनेछ।’
विद्यार्थीहरुले १५ दिनभित्र रकम नपाए सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन भनिएको छ। प्रशासन कार्यालयलाई ठगी मुद्दा अघि बढाउन सरकारले अनुमति दिएको छ।
निर्णय सार्वजनिक गर्दै मन्त्री पोखरेलले भने, ‘मेडिकल कलेजले दिएको सकारात्मक योगदानको कदर गर्दै १५ दिनको समय दिएका हौं । हामीलाई ठगी मुद्दा चलाउन मन छैन, तर बाध्य हुनछौं। फेरि एकपल्ट आफ्ना विद्यार्थीका समस्या आफैं समाधान गर्न अवसर दिएका छौं।’ उनले सोमबार नै ठगी मुद्दा अन्तर्गत कारबाहीका लागि गृह मन्त्रालयमा पत्र पठाउने पनि जानकारी गराए।
मन्त्री पोखरेलले निजी मेडिकल कलेज सञ्चालक सरकारलाई तालाचाबी बुझाएर उन्मुक्ति नपाउने पनि उनले बताए। समस्या समाधान नभए कानूनी कारबाही हुनेतर्फ सचेत गराएका छन्।