काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग लिएर डडेल्धुरामा आमरण अनसनरत डा गोविन्द केसीलाई लिन गएको हेलिकोप्टर रित्तै फर्किएको छ।
डा केसीले जबरजस्ती अन्यत्र नजाने अडान लिएको र स्थानीयले डा केसीको माग पूरा नगरी जान नदिने भन्दै विरोध गरेपछि हेलिकोप्टर रित्तै फर्किएको हो।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सिंगो देश लिपुलेकको विषयतर्फ हुँदा डा गोविन्द केसीलाई अनसनमा नरहन आग्रह गरेका छन्।
शिक्षा मन्त्रालयसँग सम्बन्धित विषयमा अनसन बस्न नहुने बताउँदै उनले डा केसीको अनसन असान्दर्भिक रहेको जनाए। उनले भने, ‘सिंगो देश कालापानीका विषयमा केन्द्रीत छ । नयाँ बहश उठिरहेको छ । यस्तो बेला अनसन बस्नु उपयुक्त होइन।’
डा केसी आठ दिनदेखि डडेलधुरामा अनसनरत छन्। उनको स्वास्थ्य अवस्था खराब हुँदै गइरहेको चिकित्सकहरूले बताएका छन्।