बुटवल- तिलोत्तमा नगरपालिका-६ सालघारीमा रहेको आनन्दवन स्वास्थ्यचौकी अस्पतालमा परिणत हुने भएको छ। १५ शैया क्षमता रहने गरी अस्पताल बनाउन लागिएको नगरपालिकाले जनाएको छ।
स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नतिका लागि वडा नं. ६ र नगरपालिकाले निर्णय गरी स्वास्थ्य मन्त्रालयको योजना महाशाखामा फाइल पठाइसकिएको छ।
अस्पतालका लागिरुपन्देही-२ का प्रतिनिधि सभा सदस्य एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले समेत प्रतिवद्धता जनाएका छन्। पौडेलले बिहीबार स्वास्थ्य चौकीको स्थलगत निरीक्षण गरी अस्पताल बनाउन आफूले सम्बन्धित मन्त्रालयमा पहल गर्ने बताए। ‘आनन्दवन स्वास्थ्य चौकी अब १५ शय्याको अस्पताल बन्छ, तपाईंहरू ढुक्क हुनुस्,' पौडेलले भने, ‘यसका लागि मैले सरकार र मन्त्रालयमा कुरा पुर्याउँछु।’
सांसद पौडेलले खोलामुनि चट्टान परेकाले रोकिएको गोरकट्टा–मोतिपुर पुल अब सुरु हुने र तिनाउ दानव कोरिडोर सडक पनि बन्ने क्रममा रहेको बताए।
नगरप्रमुख बासुदेव घिमिरेले हरेक वडामा कम्तिमा एउटा स्वास्थ्य संस्था पुर्याउने नगरपालिकाको नीति रहेको बताए।
स्वास्थ्य चौकीको १० कठ्ठा जग्गा रहेकाले अस्पतालमा स्तरोन्नतिका लागि पहल गरिएको चौकीका प्रमुख ज्ञानप्रसाद पौड्यालले बताए। हाल दैनिक ५० जना भन्दा बढी बिरामीले सेवा लिने गरेका र महिनामा सरदर २० जनाले प्रसूति सेवा समेत लिने गरेको स्वास्थ्य चौकीले जनाएको छ। यो स्वास्थ्य चौकी तिलोत्तमा वडा नं ५, ६ र १३ का जनताका लागि पायक पर्ने ठाउँमा छ।
स्वास्थ्य चौकीको केही दिन अघि स्वास्थ्य विभागका महानिर्देशक डा. रोशन पोखरेलले समेत स्थलगत निरीक्षण गरेका थिए। अस्पताल बनाउन १५ करोड रुपैयाँ बजेट लाग्ने जनाइएको छ।