वीरगञ्ज – नेसनल मेडिकल कलेजका विद्यार्थीहरुले माग पुरा नभएसम्मका लागि नियमित तथा आंशिक परीक्षा बहिष्कार गर्ने भएका छन्।
विद्यार्थीहरुले अतिरिक्त शुल्क फिर्ताको माग राख्दै आन्दोलन गरिरहेका छन्। विद्यार्थीहरुले अवैध रुपमा उठाइएको अतिरिक्त शुल्क फिर्ताको माग गरेपछि कलेज प्रशासनले विद्यार्थीमाथि आक्रमण समेत गरेको थियो।
आन्दोलित भएका विद्यार्थीले आक्रमणकारीलाई कारबाही र शुल्क फिर्ताको माग पुरा नभएसम्म परीक्षा बहिष्कार गर्ने निर्णय गरेका हुन्।
विज्ञप्ति निकाल्दै विद्यार्थीहरुले आफूहरुमाथि कुटपिट गर्ने, छात्रावास भित्र प्रवेश गरि मानसिक त्रास दिने गुण्डा तथा त्यसका नाइकेलाई तत्काल प्रकाउ गरि कानुनी कारबाही गर्न प्रशासन समक्ष माग गरेका छन्।
‘कलेज प्रशासनले उठाएको अतिरिक्त शुल्क, कलेज प्रशासनले सरकारसँग गरेको सहमति अनुसार शुल्क फिर्ता वा समायोजन कार्यन्ययनलाई शान्तिपूर्ण ढंगबाट कलेज प्रशासन समक्ष स्मरण तथा ज्ञापन पत्र पटक पटक बुझाएका थियौँ,’ विद्यार्थीले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘तर हाम्रो मागलाई वेवास्ता गरि उल्टै यो विषयमा कुनै पनि प्रकारको कुराहरु बाहिर नल्याउन डर धम्की दिइरहेकको, शान्ति पूर्ण आन्दोलन गर्दा आहिरबाट गुन्डाहरु ल्याएर विधार्थीहरु माथी कुटपिट र आवस भित्र गएर मानसिक त्रास दिएको हुँदा निज गुण्डालाई कार्वाही गर्न माग गरेका छौँ।’
