काठमाडौं- अमेरिकामा रहेका दुई नेपाली डाक्टरले त्रिवि शिक्षण अस्पतालको कलेजको प्रत्यारोपण सेवाका लागि आफ्नो जन्मदिनका अवसरमा सहयोग रकम उठाएका छन्। अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर महिनामा जन्मदिन परेका डा सन्तोष सापकोटा र डा पंकज तिम्सिनाले नेपाली ६ लाख ८५ हजार रकम संकलन गरेका हुन्।
उनीहरुले उठाएको उक्त रकम त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्न आउने बिरामीको कलेजो दाताको शल्यक्रियामा खर्च हुने अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीले जानकारी दिए।
सुरुमा डा सन्तोष सापकोटाले कलेजो प्रत्यारोपण सेवाका लागि आफ्नो तर्फबाट व्यक्तिगत रुपमा केही सहयोग गर्ने कुरा डा भण्डारीलाई प्रस्ताव गरेका थिए। डा भण्डारीले डा सापकोटालाई कलेजो प्रत्यारोपण सेवामा दाताको शल्यक्रियाका लागि दुई देखि ३ लाख रुपैयाँ खर्च लाग्ने जानकारी दिएका थिए।
त्यसपछि डा सापकोटाले एक जनाको शल्यक्रियाका लागि लाग्ने खर्च आफ्नो जन्मदिनका अवसरमा उठाएर सहयोग गर्ने वचन डा भण्डारीलाई दिए।
सोही अनुसार डा सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो जन्मदिनका अवसरमा कलेजो प्रत्यारोपण सेवाका लागि सहयोग गर्न लागेको भन्दै अरुलाई पनि सहयोग गर्न आह्वान गरेका थिए।
परिवारका साथ डा सन्तोष
डा सापकोटाले एक जनाका लागि सहयोग गर्न लागिएको र त्यसका लागि २ हजार डलर आवश्यक पर्ने भन्दै फेसबुकमाफर्त सहयोग मागेका थिए। उक्त सूचना जारी भएको पाँच दिनमा नै लक्ष्य अनुसार रकम संकलन भएपछि उनले रकम संकलन गर्न बन्द गरेका थिए।
उक्त सूचना जारी भएलगत्तै डा पंकज तिम्सिनाले डा सापकोटासँग सम्पर्क गर्दै आफ्नो पनि जन्मदिन नोभेम्बरमा नै परेको र आफू पनि अर्का एक जनाको प्रत्यारोपण दाताका लागि सहयोग गर्ने जानकारी गराएका थिए। त्यसपछि उनले पनि डा सापकोटाले झैँ सहयोग मागेका थिए।
परिवारका साथ डा पंकज
दुवै जनाको गरी ६ हजार ८ डलर संकलन भएको र उक्त रकम नेपाल पठाउने तयारी भएको डा सापकोटाले जानकारी दिए।
‘म हरेक जन्मदिनका अवसरमा केही न केही समाजिक काम गरिरहेको हुन्छु,’ उनले भने, ‘यसपटक कलेजो प्रत्यारोपण सेवामा सहयोग गर्न रकम संकलन गरेको हुँ। यो काममा डा पंकजले पनि रुची देखाउनु भयो र अन्य सहयोगीहरुले पनि साथ दिनुभयो।’
नेपालमा ठूलो उद्धेश्यका साथ सुरु भएका कार्यक्रममा बाहिर बसेका नेपालीको सानो सहयोगले पनि ठूलो अर्थ रहने भएकाले व्यक्तिगत तर्फबाट पनि सक्ने सहयोग गरिएको डा सापकोटाले जानकारी दिए। उनले आगामि दिनमा पनि अन्य सहयोगका काम जारी रहने बताए।