काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण सेवालाई सहयोग गर्ने बचन दिएका छन्।
प्रधानमन्त्रीलाई भेट्न पुगेका अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीलाई प्रधानमन्त्री ओलीले सहयोग गर्ने वचन दिएका हुन्।
भेटमा डा भण्डारीले कलेजो प्रत्यारोपण सेवा सुरु गर्दाका दुःख, अबका चुनौती र सरकारका तर्फबाट आवश्यक पर्ने सहयोगका विषयमा जानकारी गराएका थिए।
डा भण्डारीको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले प्रत्यारोपण सेवाका लागि आवश्यक पर्ने सहयोग उपलब्ध गराउने वचन दिएका हुन्।
अस्पतालले गत जेठमा पहिलो पटक प्रत्यारोपण गरेको थियो। त्यसयता हालसम्म तीन जनाको कलेजो प्रत्यारोपण भइसकेको छ।
अस्पतालको कलेजो प्रत्यारोपण सेवालाई सहयोग गर्न अमेरिकामा रहेका दुई नेपाली डाक्टरले समेत आफ्नो जन्मदिनका अवसरमा ६ लाख भन्दा बढी आर्थिक संकलन गरेका छन्। अमेरिकामा रहेका डा सन्तोष सापकोटा र डा पंकज तिम्सिनाले रकम संकलन गरेर डा भण्डारीलाई पठाउन लागेका हुन्। डा भण्डारीले उक्त रकम कलेजो प्रत्योरोपणका क्रममा कलेजो दान गर्ने दाताको शल्यक्रियाका लागि खर्च गर्ने लक्ष्य रहेको बताए।