भैरहवा - नेपाल डेन्टल एसोसिएसनको वार्षिक राष्ट्रिय सम्मेलन भैरहवामा सुरु भएको छ। सम्मेलनको प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका हुन्।
सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले दन्त चिकित्सकलाई प्रत्येक जिल्ला र ग्रामीण भेगमा पुर्याउनु पर्ने उल्लेख गरे। सहरमा दन्त चिकित्सक, दन्त अस्पताल तथा क्लिनिक पर्याप्त मात्रामा भए पनि ग्रामीण भेगमा अभाव भएको हुँदा गाउँ गाउँमा पुग्नु पर्नेमा जोड थिए।
मुख्यमन्त्री पोखरेलले अझै पनि ग्रामीण भेगमा दन्त चिकित्सा सम्बन्धी जानकारीको अभाव रहेको उल्लेख गर्दै त्यहाँ पुगेर जनचेतनामूलक कार्यक्रम गर्नु पर्ने बताए।
उनले गुणस्तरीय सेवामा जोड दिँदै प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा नाक, कान, घाँटी, मुख स्वास्य विभागका प्रमुख डा. प्रकाश बुढाथोकी, नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारी, महासचिव डा. करुम्भराज जोशी लगाएतले दन्त चिकित्सा सेवालाई थप गुणस्तरीय र प्रविधिमैत्री बनाउने बताए।
सम्मेलनमा ३ सय बढी दन्त चिकित्सकको सहभागिता रहेको छ।
कार्यक्रममा दन्त चिकित्सा सम्बन्धी अत्याधुनिक उपकरण एवम् औषधिजन्य पदार्थको प्रदर्शनी राखिएको थियो।
दन्त चिकित्सामा प्रयोग हुने नवीन प्रविधि यन्त्र, उपकरण र औषधि जन्य प्रदार्थ अत्यन्तै सुलभ दरमा उपलब्ध गराउने उद्देश्यका साथ प्रदर्शनी राखिएको डेण्टल एसोसिएन रुपन्देहीका अध्यक्ष डा. कलितराज जोशीले जानकारी दिए।
आयोजकका अनुसार सम्मेलन अवधिभर कार्यशाला, गोष्ठी एवम् तालिमको आयोजना गरिएको छ।
६४ वटा कार्यपत्रमध्ये आज ३२ वटा कार्यपत्र प्रस्तुत गरिएको डा. जोशीले जानकारी दिए।