डोटी– डोटीको शिखर नगरपालिका- १० स्थित सिद्देश्वर माध्यामिक विद्यालयमा लामाे लाइनमा उभिएर आफ्नो पालो कुरिरहेका थिए नौ वर्षिय टेकबहादुर बलायर। उनी डोटी स्वास्थ्य कार्यालयले सिद्देश्वर माविमा सञ्चालन गरेको कान, दाँत र आँखासम्बन्धी स्क्रिनिङ शिविरमा दाँतको उपचारका लागि पालो कुरिरहेका थिए।
टेकबहादुर मुस्कुराउँदा पहेला दाँत देखिन्थे। शिविरमा खटिएका स्वास्थ्य कार्यालयका फोकलपर्सन सूर्य बिष्टले उनलाई देखेपछि प्रश्न गरे, 'बाबु तिमी ब्रस गर्दैनौं?’ टेकबहादुरले ईशारामा ‘नाइ’ भने। टेकबहादुर उक्त विद्यालयका कक्षा ३ का विद्यार्थी हुन्।
टेकबहादुरको छेउमा उभिएका नौ वर्षिय दिनेश ताम्राकारका दाँत पनि पहेला थिए। उनले पनि अहिलेसम्म आफूले ब्रस नदेखेको बताए।
‘दाँतमा हुने संक्रमणबाट जोगिन हरेक दिन दुई पटक ब्रसले दाँत माझ्नु पर्छ’ फोकलपर्सन सूर्यले भने, 'यस वडाका अधिकांश बालबालिकालाई दाँत माझ्नुपर्छ भन्ने नै ज्ञान रहेनछ।' उनले गरिबीका कारण नभई सचेतना अभावका कारण व्यवहारमा ब्रस प्रयोग गर्ने अभ्यासको अभाव रहेको आफूले अनुभव गरेको बताए।
फोकलपर्सन सूर्यले बालबालिकालाई दाँत, आँखा, नाक र मुखको हेरचाह र सरसफाइबारे जानकारी दिन स्थानीय तहले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। शुक्रबार सञ्चालन गरिएको शिविरमा एक हजार नौ सय ९८ विद्यार्थीहरूले सेवा लिएका थिए। तीमध्ये तीन सय ७१ जनाले दाँतसम्बन्धी चेकजाँच गराए।
दाँत चेकजाँच गराएका विद्यार्थीमध्ये एक सय ६९ जनाको दाँत किराले खाएको भेटिएको थियो भने १० जनाको दाँत नै निकाल्नु परेको थियो। त्यस्तै शिविरमा तीन सय ७२ जना बालबालिकाकाे कानकाे उपचार गरिएकाे थियाे। कानको चेकजाँच गराएकामध्ये ४३ जनामा कानमा संक्रमण देखिएको थियो।
शिविरमा तीन सय ५५ जनाले आँखासम्बन्धी सेवा लिए। जिल्ला स्वास्थ्य कार्यालयले कान, दाँत र आँखासम्बन्धी समस्याहरू पहिचान गरि उपचारका साथै परामर्श र रोगको प्रकृति हेरी उपयूक्त ठाउँमा रेफर गर्न गत २७ गते अर्थात बुधबारदेखि सो शिविर सुर भएकाे थियो।
स्वास्थ्य कार्यालयले डोटीको पूर्वीचौकी गाउँपालिकाको सरस्वती माध्यामिक विद्यालय, दिपायलसिलगढी नगरपालिकाको दुनादेवी माध्यामिक विद्यालय र शिखर नगरपालिकाको सिद्देश्वर माध्यमिक विद्यालयमा शिविर आयाेजना गरेको जनाएको छ। स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार शिविरमा दुई हजार छ सय दुई जनाले सेवा लिएका थिए।
जसमा कानको संक्रमण एक सय ७३, दाँत किराले खाएको चार सय एक, दाँत निकालेको २६ र दृष्टि कमजोर सात जनामा देखिएको थियो। स्वास्थ्य कार्यालय डोटीले केही दिनमै गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
कार्यालय प्रमुख मलासीले भने, 'डोटीका दूर्गम क्षेत्रमा अझै पनि मानिस विभिन्न रोग लुकाएर बस्न बाध्य छन्। त्यसैले नियमित चेकजाँच गराउने लगायतका सचेतना कार्यक्रम फैलाउन विभिन्न शिविर तथा अन्य कार्यक्रम अघि बढाउने तयारी गरेका छौं।’
डोटी स्वास्थ्य कार्यालयले मंसिर १ देखि ६ गतेसम्म गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।