काठमाडौं- वीर अस्पतालको भिआइपी वार्ड। वरिपरि थिए- आमा, श्रीमती र केही शुभचिन्तक।
बेडबाट हल्का उठेर आराम गरिरहेका थिए स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव। मेरुदण्डको दुखाइले हिँड्न समेत समस्या भएपछि शुक्रबार साँझ उनी अस्पताल भर्ना भएका थिए।
स्वास्थ्य राज्यमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न स्वास्थ्यखबर पुग्ने बित्तकै मसिना आवाजमा उनी बोल्न थाले। ‘हिजो समाचार आएपछि भेट्ने र फोन गर्नेहरूको लर्को लागेको छ,’ मन्त्री यादव खुशी भएको अनुमान गर्न गाह्रो भएन।
‘मलाई अझै आराम जरुरी चाहिएको छ। सबैलाई भनिदिनुहोला- ५ दिन जति डिस्टर्ब नगरिदिन भनेर,’ उनले हामीतर्फ संकेत गर्दै भने।
मेडिकल रिपोर्टअनुसार मन्त्री यादवको मेरुदण्डको 'एल-४ एल-५ डिस्प्रोग्यास' भएको छ। नसा च्यापिएका कारण बायाँ खुट्टामा दुखाइ हुन्छ र हिँड्न अफ्ठेरो हुन्छ। 'अहिले कस्तो छ,' स्वास्थ्य अवस्था बुझ्न हामीले प्रश्न गर्यौं।
‘अहिले दुखाइ धेरै कम छ,’ उनले भने, ‘हिजो त निकै पीडा भएको थियो। दुख्ने भन्दा पनि बढी सहनै नसक्ने गरी पोलेको थियो।’
केहीदिन अघि उनी बारा गएका थिए। त्यसभन्दा अघिदेखि नै अलिअलि दुखेको महसुस भएको रहेछ मन्त्री यादवलाई। सुत्न अफ्ठेरो भएको हो कि भनेर खासै ख्याल गरेनन्। ‘शुक्रबार मन्त्रालय पनि गएको थिएँ। तर, खप्नै नसक्ने गरी दुख्यो। असह्य भयो र अनि हस्पिटलाइज्ड भएँ,’ उनले भने। मेरुदण्ड दुख्ने भएकाले सुत्न समेत समस्या छ उनलाई।
मन्त्री यादवको हिजो नै एमआरआइ गरिसकिएको छ। साँझदेखि नै फिजियोथेरापी सुरु गरिएको उनले बताए।
‘उपचारको लागि वीर नै आउनुभयो त?’ स्वास्थ्यखबरको प्रश्नमा उनले भने, ‘यहाँ उपचार राम्रो छ। डाक्टरहरू पनि राम्रो छन्। यो जतिको राम्रो ठाउँ छाडेर प्राइभेटमा किन जानु?’
डाक्टरका अनुसार उनले अझै ३ दिनसम्म आराम गर्नुपर्छ। ‘डाक्टरले ३ दिनसम् रेस्ट गर्नुपर्छ भनेका छन्। सायद ५/७ दिन जति नै गर्नुपर्ने हुन सक्छ,’ मन्त्री यादवले भने। अहिले दुख्न निकै भएको उनी बताउँछन्।
‘रातिदेखि नै फिजियो र इन्जेक्टेबुल राखिदिनु भएको छ। दुखाइ धेरै कम भएको छ। तर, अझै लुगा लगाउन गाह्रो छ। दिसा गर्नु पर्दा सहयोग चाहिन्छ। सुतिराखौं कि उभिराखौं जस्तो हुन्छ। बसिरहँदा नि यसले त्यति राम्रो गर्दैन,’ उनी भन्छन्।
मन्त्री यादवको शनिबार बिहान महोत्तरी जाने कार्यक्रम रहेछ। ‘महोत्तरी जिल्ला विकास, सुरक्षा निकाय र रेडक्रसका प्रतिनिधिहरूसँग बैठक थियो। सर्लाहीका मेयरसँग पनि बैठक थियो। म अस्वस्थ भएपछि त्यो शुक्रबारका लागि सरेको छ,’ मन्त्री यादवले भने, ‘निरन्तर एक्सरसाइज पछि ठीक हुन्छ। अनि नियमित काममा फर्कन्छु।’
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा प्रमोद यादवले भने, 'उहाँको ढाडमा समस्या रहेछ, हामीले निगरानीमा राखेर, आवश्यक उपचार गरिरहेका छौं।' राज्यमन्त्री यादवलाई डाक्टर राजिव झाको टिमले हेरिररहेको छ। उनलाई आइतबारसम्म अस्पताल राखेर उपचार गरिने अस्पतालले जनाएको छ। 1