काठमाडौं– पूर्व स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य र शिक्षा मन्त्रालयको समन्वय हुन नसक्दा चिकित्सा शिक्षा सुधारमा भद्रगोल अवस्था आएको बताएका छन्।
सर्कल अफ डेमोक्रेटस्को आयोजनामा राजधानीमा भएको एक बहसमूलक कार्यक्रममा वक्ताको रुपमा रहेका थापाले चिकित्सा शिक्षाका विषयमा दुई मन्त्रालय एक ठाउँमा हुनु पर्नेमा दुई तिर हुँदा समस्या भएको बताएका हुन्।
'गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्न दक्ष जनशक्तिको आवश्यकता पर्ने र यसका लागि गुणस्तरीय जनशक्ति उत्पादन हुनुपर्छ,' उनले भने, 'तर यहाँ स्वास्थ्यले आफूलाई आवश्यक पर्ने जनशक्तिको गुणस्तर कस्तो हुने? कस्ता जनशक्ति उत्पादन भइरहेको छ भन्ने विषयमा कुनै मतलव राखेको छैन। यस्तै शिक्षा मन्त्रालयले पनि चिकित्सा शिक्षा पढाउने कलेजहरुको अस्पतालको अवस्था के छ? मापदण्ड अनुसारको छ छैन भनेर नहेरेका कारण अहिले यस्तो भद्रगोलको अवस्था आएको हो।'
उनले आफू स्वास्थ्य मन्त्री रहँदा दुवै मन्त्रालयको समन्वयका लागि काम सुरु गरेको बताए। दुई मन्त्रालयको समन्वय हुँदा गुणस्तरमा धेरै सुधार आउने र नियम कानुनको कार्यान्वयन पनि हुने उनले जानकारी दिए।
उनले चिकित्सा शिक्षाका हरेक विषय शिक्षा मन्त्रालयको पनि उत्तिकै चासो हुनु पर्ने बताए।
मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग बढी शुल्क लिइरहेको विषयमा सांसद थापाले तोकिएकोभन्दा बढी शुल्क लिने कलेजलाई कारबाही गर्नुपर्ने बताए।
'मेडिकल ठगहरुलाई कारबाही हुनुपर्छ, ठगलाई कहिल्यै पनि छुट दिनु हुँदैन,' उनले भने, 'ठगहरुलाई कारबाही गर्ने कुरामा हामी सरकारलाई साथ दिन्छौं।'
कार्यक्रममा थापाले मेडिकल कलेजहरुलाई चिकित्सा शिक्षा ऐन अनुसार गैरनाफामूलक बनाउँदै लैजाने बेला आएको पनि बताए।
चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डा हरि लम्सालले दुई मन्त्रालयबीचमा समन्वय गर्ने काम अब चिकित्सा शिक्षा आयोगले गर्ने जानकारी दिए।
उनले चिकित्सा शिक्षा ऐनको राम्रो कार्यान्वयन हुनुपर्नेमा जोड दिए।
बढी शुल्क लिएका विषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न पनि उनले विद्यार्थीहरुलाई आग्रह गरेका छन्।