भैरहवा- नेपाल डेन्टल एसोसिएसनको वार्षिक राष्ट्रिय सम्मेलन भैरहवामा सुरु भएको छ। सम्मेलनको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे।
सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले दन्त चिकित्सकलाई प्रत्येक जिल्ला र ग्रामीण भेगमा पुर्याउनु पर्नेमा जोड दिए। शहरमा दन्त चिकित्सक तथा दन्त अस्पताल तथा क्लिनिक पर्याप्त मात्रामा भएपनि ग्रामीण क्षेत्रमा दन्त चिकित्सक अभाव भएकाले गाँउ गाँउमा पुग्नु पर्नेमा जोड थिए।
कार्यक्रममा नाक, कान, घाटी, मुख स्वास्थ्य विभागका प्रमुख डा. प्रकाश बुढाथोकी, नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष डा. प्रबिन्द्र अधिकारी, महासचिव डा. करुम्भराज जोशी लगाएतले बोल्दै दन्त चिकित्सा सेवालाई थप गुणस्तरीय र प्रविधिमैत्री बनाउने बताए।
सम्मेलनमा ३ सय बढी दन्त चिकित्सकको सहभागिता छ।
चिकित्सकहरूबीच विचार/विमर्श, अनुभव आदानप्रदान नयाँ नयाँ अत्याधुनिक प्रविधिको प्रयोग प्रदर्शन एवं अन्तर्क्रियाद्वारा चिकित्सा सम्बन्धी ज्ञान, सिप र धारणा विभिन्न माध्यम तथा कार्यक्रम मार्फत आदानप्रदान गर्नको लागि सम्मेलन महत्वपूर्ण भुमिका खल्ने आयोजकले जानकारी दिए।
कार्यक्रममा दन्त चिकित्सासम्बन्धी अत्याधुनिक उपकरण एवं औषधिजन्य पदार्थको प्रदर्शनी राखिएको छ। दन्त चिकित्सामा प्रयोग हुने नविन प्रविधि यन्त्र, उपकरण र औषधि सुलभ दरमा उपलब्ध गराउनु उद्देश्यका साथ प्रदर्शनी गरिएको नेपाल डेन्टल एसोसिएसन रुपन्देहीका अध्यक्ष डा. कलितराज जोशीले जानकारी दिए।
आयोजकका अनुसार सम्मेलन अवधिभर कार्यशाला, गोष्ठि एवं तालिमको आयोजना गरिएको छ। ६४ वटा कार्यपत्र मध्ये शनिबार ३२ कार्यपत्र प्रस्तुत गरिएको डा. जोशीले जानकारी दिए। सम्मेलन आयोजक कमिटीका अध्यक्ष प्रा.डा हेमन्त कुमार हलुवाईको अध्यक्षतामा सम्पन्न भएकव हो।