काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले लिएको २३औँ नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५२ दशमलब १२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
काउन्सिलले शनिबार लिएको २३औँ नाम दर्ता परीक्षामा सहभागी भएका एक हजार ६ सय ७१ विद्यार्थीमध्ये ८ सय ७१ जना विद्यार्थी मात्र पास भएका हुन्। भने ८ सय अनुत्तीर्ण भएका छन्। ३० जना विद्यार्थी परीक्षामा सहभागी भएनन्।
काउन्सिलले नतिजा www.nnc.org.np नतिजा हेर्न सकिने जनाएकाे छ।
गत असारमा भएको २२औँ नाम दर्ता परीक्षामा ३५ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए। उत्तीर्ण हुने विद्यार्थीकाे संख्या घट्दै गएपछि नर्सिङ शिक्षाकाे गुणस्तरबारे बहस सुरू भएकाे थियाे।
पछिल्लो समय काउन्सिलको नाम दर्ता परीक्षामा उत्तीर्ण हुने विद्यार्थीको संख्या घट्दै गएको छ। स्वास्थ्यखबरले गत साउनमा गरेको रिर्पोटिङका क्रममा मापदण्ड नपुगेका नर्सिङ कलेज, शिक्षक र प्रयोगात्मक अभ्यासको कमी विद्यार्थी अनुत्तीर्ण हुने कारणका रुपमा रुपमा देखिएको थियो।
‘यसपटक पनि लगातार फेल भएका विद्यार्थी नै धेरै छन्। किन धेरै विद्यार्थी फेल भइरहेका छन् भन्ने विषयमा काउन्सिलले विस्तृत अध्ययन गर्दैछ,’ काउन्सिलकी रजिष्ट्रार वृन्दा घिमिरेले बताइन्।
उनले काउन्सिलकाे बैठक बसी कुन कलेजका विद्यार्थी धेरै फेल भएका छन्, के विषयमा फेल भए भन्ने विषयमा समीक्षा गरिने जानकारी दिइन्।
काउन्सिलले लिने नर्सिङ परीक्षामा एक पटक मात्र होइन १४ पटकसम्म फेल भएका छन्। यो तथ्यांकले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको नर्सिङ सेवाको गुणस्तरप्रति नै गम्भीर प्रश्न उब्जाएको छ ।
नेपाल नर्सिङ काउन्सिलले वर्षको तीन पटक लाइसेन्स परीक्षा लिन्छ। यो नतिजा यो वर्षको दाेस्राे परीक्षाको हो। बाँकी परीक्षा आगामी चैतमा हुनेछ। कात्तिक र चैतमा हुने परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या निकै धेरै हुन्छ।
