काठमाडौं- नेपाल चिकित्सक संघको महासचिव पदका लागि प्रजातान्त्रिक समूहबाट डा बद्री रिजाललाई उठाउने सैद्धान्तिक सहमति भएको छ।
अध्यक्षमा हालका महासचिव डा लोचन कार्कीलाई उठाउने निर्णय गरेको प्रजातान्त्रिक समूहले अन्य पदाधिकारीका विषयमा पनि सैद्धान्तिक सहमति जुटाएको हो। यद्यपी यसको औपचारिक घोषणा भने हुन बाँकी नै छ।
प्रजातान्त्रिक समूहको बैठकले महासचिवका आकांक्षी रहेका ५ जनामध्ये रिजाललाई उठाउने सहमति गरेको हो। यस्तै वरिष्ठ उपाध्यक्षमा डा शिबकुमार श्रेष्ठ, उपाध्यक्षमा डा। अनिलविक्रम कार्की, महासचिवमा डा। बद्री रिजाल, सहसचिवमा डा प्रकाश बुढाथोकी, कोषाध्यक्षमा डा शिवजी पौडेल र सहकोषाध्यक्षमा विश्वराज दवाडीको नाममा सैद्धान्तिक सहमति जुटेको संघका हालका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले जानकारी दिए।
तर महाचसचिव पदमा आफूभन्दा जुनियरलाई ल्याएमा आफू कार्यसमितिमा नबस्ने डा बुढाथोकीले बताएका छन्। डा बुढाथोकीले महाचसिवमा दाबी गरिरहेका छन्। तर बैठकले उनलाई सहसचिवमा उठाउने निर्णय गरेको छ। डा बुढाथोकीले भने ‘पदाधिकारीको नामको औपचारिक जानकारी मैले पाएको छैन,’ उनले भने, ‘म संघमा लामो समयदेखि काम गरिरहेको व्यक्ति हुँ, त्यसकारण म भन्दा जुनियरलाई महासचिवमा उठाइयो भने म कार्यसमितिमा रहन्न।’
हालका अध्यक्ष श्रेष्ठका अनुसार अहिलेको सैद्धान्तिक सहमति अनुसारको नाममा कोहीको आपत्ति छ र बस्न चाहँदैन भने नाम परिवर्तन हुनसक्छ।
महासचिव पदमा उठाउने सहमति भएका डा रिजाल सरकारी चिकित्सक संघका पूर्व अध्यक्ष समेत हुन्। सरकारी चिकित्सक संघमा रहँदा उनले राम्रो काम गरेको भन्दै प्रजातान्त्रिक समूहले उनलाई संघको महासचिवमा उठाउने निर्णयमा पुगेको समूहका एक चिकित्सकले जानकारी दिए।
प्रजातान्त्रिक समूहले सदस्यहरुको नाममा पनि सैद्धान्तिक सहमति गरिसकेको छ।