काठमाडौं- मेडिकल कलेजको शुल्कका विषयमा उठिरहेको विवादका विषयमा त्रिभुवन विश्वविद्यालयमा छलफल भएको छ। त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको अध्यक्षतामा बसेको बैठकमा त्रिविका अन्य पदाधिकारी, चिकित्सा शास्त्र अध्ययन संस्थाका पदाधिकारी र निजी मेडिकल कलेजका पदाधिकारीहरु सहभागि थिए।
बैठकमा चिकित्सा शिक्षाको शिक्षण शुल्क सम्बन्धमा उठेका विवाद र समस्या समाधानका उपायका विषयमा गम्भिरता साथ छलफल भएको बताइएको छ।
छलफलमा निजी मेडिकल कलेजहरुको कुराकानी सुन्ने काम भएको र उनीहरुले संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छलफलमा सहभागि एक प्रतिनिधीले जानकारी दिए।
त्रिवि पदाधिकारीले अबको एकदुई दिनपछि विद्यार्थीहरुसँग पनि छलफल गरेर मात्र यो विषयलाई टुंगो लगाउने तयारी गरेको छ। ‘कलेजका प्रतिनिधीहरुको कुरा सुनेपछि अब विद्यार्थीको पनि सुन्ने कुरा भएको छ,’ ती प्रतिनिधीले भने, ‘सम्भवत एकदुई दिनमा विद्यार्थीको पनि कुरा सुनेर आवश्यक प्रक्रिया अगाडि बढ्ने छ।’
शुल्क विवाद समाधानका लागि त्रिविले पहल सुरु गरेको उनी बताउँछन्। उनका अनुसार शिक्षा मन्त्रालयले २४ गते सार्वजनिक गरेको सूचनालाई सहजीकरण गर्दै समस्या समाधान तर्फ जान त्रिविले काम सुरु गरेको हो।
सरकारले तोकेकेभन्दा बढी शुल्क मेडिकल कलेजले लिएको विरोधमा विद्यार्थीहरु लामो समयदेखि आन्दोलित छन्।