काठमाडौं– नेपाल चिकित्सक संघको निर्वाचन तालिका सार्वजनिक गरेको छ। संघले सार्वजनिक गरेको तालिका अनुसार संघको निर्वाचन आगामी माघमा हुने भएको छ।
सार्वजनिक तालिका अनुसार संघको निर्वाचन उपत्यकाबाहिर २ दिन र उपत्यकाभित्र ५ दिन मतदान हुने छ।
संघको निर्वाचन समितिका अनुसार उपत्यकाबाहिरका १६ वटा स्थानमा मतदान केन्द्र रहेको छ भने उपत्यकामा भने संघको कार्यालयमा मतदान केन्द्र तोकिएको छ।
उपत्यकाबाहिर माघ ४ गते शनिबार र ५ गते आइतबार मतदान हुने छ। म्तदान बिहान ११ बजेदेखि ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ।
यस्तै, उपत्यकाभित्र भने माघ १७ गते शुक्रबारदेखि २१ ग्ते मंगलबारसम्म मतदान हुनेछ। उपत्यकाभित्र पनि बिहान ११ देखि दिउसो ४ बजेसम्म मात्र मतदान गर्न सकिने समय मिलाइएको छ।
निर्वाचनका लागि उम्मेद्वारीले मनोनयन दर्ता भने मंसिर २७ र २८ गते गर्न सक्नेछन्।
निर्वाचन नजिकिएसँगै संघको पदाधिकारीका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम पनि बढीरहेको छ।
संघको अध्यक्षका लागि हालसम्म डा लोचन कार्की र डा पुषपमणि खरालको नाम सार्वजनिक भएको छ। डा कार्की संघका हालका महासचिव हुन्। उनी प्रजातान्त्रीक समूहबाट अध्यक्षमा उठ्न लागेका हुन्।
डा खरालले भने स्वतन्त्र उम्मेदवार भएको बताउँदैआइरहेका छन्।
महासचिवमा प्रजातान्त्रिक समूहका डा बद्री रिजालको नाम बाहिर आइरहेको छ।
हेरौँ निर्वाचन तालिका
केन्द्रीय निर्वाचन कार्यक्रम :
क. नेपाल चिकित्सक संघ केन्द्रीय कार्यकारिणी समितिको २०७६–२०७९ कार्यकालका लागि निर्वाचन कार्यक्रममा सहभागी हुन चाहानु हुने चिकित्सकहरुलाई संघको केन्द्रीय कार्यालयमा मिति २०७६ मंसिर १४ गते शनिबार दिउसो ३ बजे सम्म नेपाल चिकित्सक संघको आजीवन सदस्य बन्नु पर्ने।
ख. नेपाल चिकित्सक संघका शाखा कार्यालयहरुमा संघको नियमानुसार मिति २०७६ मंसिर ७ गते शनिबार सम्म आजीवन सदस्यताका लागि आवेदन गर्न सकिने छ। शाखामा आवेदन दिएका चिकित्सकहरुको आवेदन फाराम मिति २०७६ मंसिर १० गते मंगलबार भित्र संघको केन्द्रीय कार्यालयमा आईसक्नु पर्ने।
ग. नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रममा सहभागी हुने मतदाताहरुको नामावली प्रकाशनः २०७६ मंसिर २३ गते सोमबार।
घ. संघबाट प्रकाशन भएको मतदाता नामावलीमा दाबी विरोध गर्नेः २०७६ मंसिर २४ मंगलबार र २५ गते बुधबार दिउसो १ बजे सम्म
ङ. मतदाताहरुको अन्तिम नामावली प्रकाशन तथा मनोनयन पत्र वितरणः २०७६ मंसिर २६ गते बिहीबार अपरान्ह ४ बजे।
च. उम्मेदवारले मनोनयन पत्र दर्ता गर्ने ः २०७६ मंसिर २७ गते शुक्रबार र २८ गते शनिबार दिउसो १ बजे सम्म
छ. उम्मेदवारको प्रथम पटक नामावली प्रकाशन ः २०७६ मंसिर २८ गते शनिबार अपरान्ह ४ बजे सम्म।
ज. दावी विरोध गर्ने र उम्मेदवारी फिर्ता लिने ः २०७६ मंसिर ३० गते सोमबार दिउँसो १ बजेसम्म।
झ. उम्मेदवारको अन्तिम नामावली प्रकाशन ः २०७६ मंसिर ३० गते सोमबार अपरान्ह ४ बजे।
ञ. ने. चि. संघ, शाखा कार्यालय (१६ वटा), निर्वाचन केन्द्रहरुमा गोप्य मतदान ः २०७६ माघ ४ शनिबार र ५ गते आइतबार (प्रत्येक दिन बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म)
ट. ने. चि. संघ, केन्द्रीय कार्यालय, निर्वाचन केन्द्रमा गोप्य मतदान ः २०७६ माघ १७ गते शुक्रबार देखि २०७६ माघ २१ गते मंगलबार सम्म (प्रत्येक दिन बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म)
ठ. मत गणना र बिजयी उम्मेदवारको नामावली घोषणा ः २०७६ माघ २२ गते बुधबार बिहान ११ बजे उप्रान्त।
पुनश्च : १. नेपाल चिकित्सक संघका १६ वटा शाखा कार्यालयहरुमा रहेका संघका सदस्यहरुले यस निर्वाचन समितिले तोकेको मिति, समय र मतदान केन्द्रमा मात्र मतदान कार्यक्रममा सहभागिता जनाउनु पर्नेछ।
२. नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० (प्रथम संशोधन २०७३) को परिच्छेद ४ को उपदफा ९ बमोजिम संघको कार्यकारिणी समितिका पदाधिकारीहरुमा (अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सह सचिव, सह कोषाध्यक्ष) मा उम्म्ेदवारी दर्ता गराउनको निमित्त नेपाल चिकित्सक संघको सदस्यता लिएको अवधि ७ बर्ष(सातबर्ष) र सदस्यहरुका लागि संघको सदस्यता लिएको अवधि ४ बर्ष (चारबर्ष) पुगेको हुनु पर्नेछ। अन्य नियमहरु केन्द्रीय निर्वाचन समितिले तय गरे बमोजिम हुनेछ।