काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सम्पूर्ण रुपमा स्वस्थ भएको बताएका छन्। नेकपा सचिवालयको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीले ओलीले आफू सञ्चो भइसकेको जानकारी दिएका हुन्।
बैठकमा प्रधानमन्त्री ओलीले डायलाइसिस गरेपछि आफू सम्पूर्ण रुपले स्वस्थ भइसकेको जानकारी दिएको एक नेताले जानकारी दिए।
‘अब म सञ्चो भइसकें। मलाई कुनै रोग छैन। डायलाइसिसपछि म सम्पूर्ण रुपले स्वस्थ भइसकेँ। अब म ढुक्कले २० वर्ष बाँच्छु,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै ती नेताले भने।
प्रधानमन्त्रीको मिर्गौलामा समस्या आएपछि तीन पटक डायलाइसिस गरिएको छ। मिर्गौलाले काम गर्न छाडेपछि उनको डायलाइसिस गरिएको हो। चिकित्सकहरुले प्रधानमन्त्रीलाई स्वास्थ्यको ख्याल गर्न सुझाव दिँदै आइरहेका छन्।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको मिर्गौलामा फेरि समस्या देखिएपछि पुनः प्रत्यारोपणको विषयमा पनि धेरैले सुझाव दिइरहेका छन्।