काठमाडौं- नेपाल सरकारको सचिव पदबाट राजीनामा दिएकी डा पुष्पा चौधरीको राजीनामा सरकारले अस्विकृत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा चौधरीले कात्तिक ३ गते राजिनामा बुझाएकी थिइन्।
तर, मन्त्रिपरिषदले उनको राजिनामा अस्विकृत गरेको छ। राजिनामा अस्विकृत गरेको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले स्वास्थ्य मन्त्रालयमा पठाइसकेको छ।
‘उहाँको राजिनामा अस्विकृत गरिएको छ, यसको जानकारी निजलाई गराउनु’ प्रधानमन्त्री कार्यालयबाट स्वास्थ्य मन्त्रालयमा आएको पत्रमा उल्लेख छ। राजिनामा दिएपछि सचिव चौधरी मन्त्रालय आउन छाडेकी छिन्।
विश्व स्वास्थ्य संगठनको भारत कार्यालयमा जागिर खान जान सचिव चौधरीले राजिनामा दिएकी हुन्। तर, उनको राजिनामा अस्विकृत भएपछि उनको उक्त जागिरमा समेत समस्या पर्ने देखिएको छ।
स्वास्थ्य मन्त्रालयबाट सरकारले गत वर्ष उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। त्यसपछि उनले सरकारविरुद्ध मुद्दा हालेकी थिइन्। सरकारविरुद्द मुद्दा हालेका कारण पनि उनको राजिनामा स्विकृती नभएको हुनसक्ने स्वास्थ्यका कर्मचारी बताउँछन्।
डा चौधरीको सरकारी सेवामा अझै २ वर्ष कार्यकाल रहेको छ।