काठमाडौं– स्वास्थ्य मन्त्रीका रुपमा पद बहाली गरेपछि मन्त्री भानुभक्त ढकालले कर्णाली प्रादेशिक अस्पतालमा दुई जना सर्जनलाई पठाउने निर्णय गरेका छन्। कर्मचारी समायोजनका क्रममा संघमा रहेका सर्जनहरुलाई प्रदेशमै रहेर काम गराउने निर्णय गरेका हुन्।
स्वास्थ्य मन्त्रालय ११औं तहका जनरल सर्जनद्वय डा हरि सापकोटा र गणेश थापालाई प्रदेश अस्पतालमै रहेर काम गराउने मन्त्रीस्तरीय निर्णय गरिएको हो। उनीहरु संघमा समायोजन भएपनि कर्णालीमा सर्जनको अभाव भएकाले त्यहीँ बसेर कबाम गराउने निर्णय गराइएको सचिव खगराज बरालले बताए।
यही निर्णय मन्त्री ढकालले स्वास्थ्य मन्त्रीका रुपमा गरेको पहिलो हो । स्वास्थ्य मन्त्रालयले तयारी गरेको निर्णयमा हस्ताक्षर गर्न भने उनले अस्वीकार गरेका छन्।
स्पष्ट बुझिने र तुरुन्त कार्यान्वयन गर्न सकिने निर्णय नभएको भन्दै उक्त फाइलमा हस्ताक्षर गर्न उनले अस्वीकार गरेका हुन्।
स्वास्थ्य सचिव खगराज बराल र गुणस्तर तथा अनुगमन महाशाखाका प्रमुख डा दीपेन्द्ररमण बरालले अस्पताल र औषधिको गुणस्तरको रणनीति बनाउन फाइल उठाएका थिए। तर मन्त्री ढकालले तुरुन्तै नबुझिने र कार्यान्वयन गर्न पनि समय लाग्ने विषयमा थप अध्ययन जरुरी रहेको भन्दै फाइल नै फर्काइदिएका हुन्।