काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयमा सचिव लगायतलाई बिहानैदेखि मन्त्रालयमा आउन निर्देशन दिएका छन्। आफूले स्वास्थ्य मन्त्रालयको प्रणाली बुझ्नुपर्ने भएकाले केही समय बिहान ८ बजेदेखि नै स्वास्थ्य मन्त्रालयमा हाजिर हुन भनेका हुन्।
आफूले जति चाँडो मन्त्रालयबारे बुझ्यो, त्यति नै मन्त्रालयको कामकारबाहीमा सहज हुने भन्दै उनले यस्तो निर्देशन दिएका हुन्। उनले भने, ‘फरक स्कुलिङबाट आएकोले यहाँको कुरा बुझ्न समय लाग्छ। बिहान चाँडै आउँदा दुई घन्टा कुरा बुझ्ने समय हुन्छ।’ आफूले एक पटक सबैको कुरा सुन्ने त्यसपछि मात्रै काम थाल्ने उनले जनाएका छन्।
मन्त्रालय अन्तर्गतका सवै कार्यालयको समस्या स्थलगत रुपमै बुझ्ने उनले बताए। उनले भने, ‘वीर अस्पतालको समस्या त्यहीँ गएर सुन्ने हो। त्यसो गर्दा त्यहाँको माहोल र उत्पन्न समस्या थाहा हुन्छ।’
मन्त्रालयको संरचनाको स्थलगत अनुगमन गरी सबै बुझेर मात्र आगामी कार्ययोजना बनाएर अघि बढ्छु।
सबैका कुरा सुनेर खास समस्या बुझेर पाएको सुझाव सूत्रवद्ध गरेर मात्र अघि बढ्ने बताए।
पहिले कानुन मन्त्रालयमा बसेर स्वास्थ्यको ऐन-कानुन बनाउने काम गरेकाले नीतिगत निर्णय गर्ने विषयमा द्विविधा नहुनेको उनको भनाइ छ।
‘स्वास्थ्यसँग कानुन-नियम अनुसार निर्णय गर्ने कुरामा मलाई कुनै अप्ठ्यारो छैन तर यो मन्त्रालयको ठूलो संरचना जनतासँग जोडिएकोले अपेक्षा ठूलो छ। त्यो पूरा भएको छैन। यहाँ अलि बेसी सेवा प्रदायकभन्दा पनि स्च्छन्द रुपमा चल्ने प्रवृत्ति छ बढी छ,’ उनले भने।