काठमाडौं- खोपको प्रभावकारीता कायम राख्न खोपको गुणस्तरीय व्यवस्थापनमा जोड दिइएको छ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले आयोजना गरेको ‘कोल्ड चेन' व्यवस्थापन सम्बन्धमा सरोकारवालासँगको अतर्क्रियामा खोपको तापक्रम व्यवस्थापनमा जोड दिइएको हो।
व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले बालबालिका तथा गर्भवती महिलालाई लगाउने खोप अति संवेदनशील हुने बताए।
उनले भने, ‘खोपको भण्डारण, ढुवानी, खोप दिने विधि स्तरीय कार्य सञ्चालन विधि अनुसार हुन्छ। त्यसका लागि उत्पादन गर्ने देखि बालबालिकालाई लगाउने समयसम्म व्यवस्थापनको ठूलो महत्व छ।’
निकट भविष्यमै रोटा भाइरसविरुद्द खोप दिने योजना रहेकोले अहिलेको खोप भण्डारण कक्ष (कोल्ड चेन) सानो भएपछि ठूलो कोल्ड चेन बनाउन गुरु योजना तयार भइरहेको डोटेलले जानकारी दिए।
सरकारले हाल राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत विभिन्न रोगहरु विरुद्द एघार वटा एन्टिजेन खोप प्रदान गर्दै आएको छ।
परिवार कल्याण महाशाखाका निर्देशक डा भीमसिंह तिंकरीले विमानस्थलमा खोप आइपुगेपछिको सहयोग महत्वपूर्ण हुने बताए।
खोप आउँदा जाँचपासको समय छिटो मिलाउन, तापक्रम व्यवस्थापनलगायतका कार्यमा विमानस्थलका कर्मचारीको भूमिका महत्वपूर्ण हुने उनले बताए।
त्रिभुवन विमानस्थलका भन्सार प्रमुख विष्णुराज ढकालले खोपलगायतका महत्वपूर्ण वस्तुको जाँचपास छिटो गराउने सम्बन्धमा प्रक्रिया सुरु भइसकेको बताए।
उनले कर्मसियल बस्तु र खोपजन्य सामग्री लगायतका लागि छुट्टाछुट्टै जाँचपास हुने बताए। ‘खोपको सुरक्षा र गुणस्तर व्यवस्थापन हाम्रो पनि जिम्मेवारी हो,’ उनले भने।
व्यवस्थापन महाशाखा पूर्वाधार शाखा प्रमुख कृष्ण चन्द, डा सुरेन्द्र चौरसिया, विश्व स्वास्थ्य संगठनका डा आन्नदी घोष, युनिसेफका प्रतिनिधि अन्नपूर्णा भट्टराइलगायतले खोपको गुणस्तर व्यवस्थापनबारे प्रस्तुती दिएका थिए।
.jpg)
उनीहरुले विमानस्थलमा खोप आइपुगेपछि खोपसँगै आएका अन्य आवश्यक सामग्री सिरिन्ज,सेफ्टी व्यागलगायतका लागि निकै झन्झट व्यहोर्नु पर्ने बताएका थिए।
ती साम्रगीको ढिलो प्रक्रिया खोप ढुवानीमा असर पर्ने उनीहरुको भनाई थियो। स्वास्थ्य,अर्थ मन्त्रालय र विमानस्थल प्रतिनिधि मिलेर यो समस्या सहज बनाउनेबारे पहल गर्न उनीहरुले सुझाव दिए।
कोल्डचेन प्रमुख बढेबाबु थापाले प्रभावकारी खोप ब्यवस्थापनको मापदण्ड कार्यान्वयन गाभीको अनुदान पाउने एक सूचकको रुपमा लिएको बताए।
उनले भने,‘प्रभावकारी खोप व्यवस्थापनका ९ वटा मापदण्डको आधार बनाएर स्तरीय कार्यसञ्चालन विधि तयार गरी प्रत्येक तहमा कार्यान्वयनमा ल्याइएको छ।’
खोप अनुगमन विधी, खोप भण्डारण तथा तापक्रम खोप भण्डारण क्षमता, भवन कोल्डचेन उपकरण र ढुवानी व्यवस्था, कोल्डचेन उपकरण तथा ढुवानी साधनको मर्मत संभार, मौजुदा भण्डार व्यवस्थापन प्रभावकारी खोप ढुवानी व्यवस्था खोप व्यवस्थापन विधि र स्तरीय कार्यसञ्चालन विधि सहयोगी व्यवस्थापन विधि प्रभावकारी खोप व्यवस्थापन ९ मापदण्डहरु हुन्।
यसै, सन्र्दभमा सरकारले खोपको व्यवस्थापन र भण्डारणका लागि १ सय ८५ नयाँ स्थानमा कोल्ड चेन विस्तार गर्न लागेको छ।
खोप उत्पादन भएदेखि नलगाउन्जेलसम्म तोकिएको तापक्रममा राख्ने उपकरणलाई कोल्ड चेन उपरकण भनिन्छ।जसले खोपको गुणस्तर कायम राख्छ।
सरकारले कोल्ड चेन इक्युपमेन्ट अप्टिमाइजेसन प्लान (सिसिइओपी) चार वर्षे आयोजना अन्र्तगत कोल्ड चेनसम्बन्धी उपकरण जडान गर्न लागेको हो। यो आयोजनाले खोपको ढुवानी र गुणस्तर कायम राख्ने लगायतका काम गर्नेछ।
नेपाल सरकार र खोपका लागि अन्तर्राष्ट्रिय एलाइन्स गाभीको संयुक्त रुपमा सञ्चालन हुने सो आयोजनाले चार वषभित्र देशभर कोल्ड चेन विस्तार गर्न रु.३० करोड बराबरको १२ रेफ्रिजेरेटर जडान गर्ने लक्ष्य राखेको छ।
परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले खोप भण्डारका पहिलो चरणमा २ सय ९१ नयाँ रेफ्रिजेरेटर देशका विभिन्न स्थानमा जडान गर्ने बताए।
उनले भने, ‘खोपको गुणस्तर र पहुँच बढाउनका लागि आवश्यकता हेरी बाटो, बत्ति, भवन लगायतको अवस्था हेरी १ सय ८५ नयाँ स्थानमा कोल्ड चेन विस्तार गर्न लागेका छौँ।’खोपको उत्पादन भएदेखि नलगाउँदासम्म निश्चित तापक्रममा राख्नुपर्ने हुन्छ। २ देखि ८ डिग्री सेल्सियस तापक्रममा खोपको भण्डारण गरिन्छ।
अहिले केन्द्रमा खोपको भण्डार र ढुवानी गर्न केन्द्रीय भ्याक्सिन स्टोर, सात प्रदेशमा आपूर्ति केन्द्र, ७७ जिल्लामा जिल्ला भ्याक्सिन स्टोर, करिब २ सय सब भ्याक्सिन स्टोर ( जिल्लाबाहिर) छन्।