काठमाडौं- चिकित्सा शिक्षा आयोगमा चार जना निर्देशक नियुक्त भएका छन्। निर्देशक सिफारिस समितिले सिफारिस गरेका चार जनालाई आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले नियुक्त गरेका हुन्।
डा गिरीले आयोगका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि बिहिबार निर्देशक नियुक्त गरेको बताए। उनका अनुसार आयोगको निर्देशकमा क्रमश डा दीलिप शर्मा, डा रमेश आचार्य, डा संगरत्न बज्राचार्य र डा आरती शाह नियुक्त भएका हुन्।
‘नियुक्तीसँगै उहाँहरुलाई जिम्मेवारी समेत तोकिएको छ,’ डा गिरीले भने, ‘अब आयोगले तीब्र गतिमा काम अगाडि बढाउँछ।’
उनका अनुसार आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयमा डा दीलिप शर्मा, योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयमा डा रमेश आचार्य, परीक्षा निर्देशनालयमा डा संगरत्न बज्राचार्य र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजमा डा आरती शाहलाई जिम्मेवारी दिइएको छ।