वीरगञ्ज- नेसनल मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरू जिल्ला प्रहरी कार्यालय पुगेका छन्।
कलेजले बढी शुल्क असुलेको भन्दै आन्दोलनरत विद्यार्थीमाथि कलेज प्रशासनले नै 'गुण्डा' लगाएर कुटपिट गरेपछि उनीहरू शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका हुन्।
कुटपिटबाट १० विद्यार्थी घाइते भएका छन्। घाइते हुनेमा महिला विद्यार्थी समेत रहेका छन्। प्रहरीले भने उनीहरूलाई निवेदन लेखेर ल्याउन आग्रह गरेका छन्।
'हामीले हाम्रो अधिकार माग्दा कलेज प्रशासनले आक्रमण गर्यो। हामी हाम्रो सुरक्षा चाहन्छौं,' आन्दोलनरत एक विद्यार्थीले भने।
बिहीबार पनि कलेजमा तनावको अवस्था आएको थियो। कलेज प्रशासनले विद्यार्थीहरुलाई होस्टल प्रवेशमा समेत रोक लगाएपछि तनाव उत्पन्न भएको थियो।
सरकारले तोकेकोभन्दा बढी शुल्क उठाएको विरोधमा विद्यार्थीले कलेज परिसरमा धर्ना लगायतका विरोधका कार्यक्रम गर्दै आइरहेका छन्।