भैरहवा- भैरहवामा रहेको भीम अस्पतालमा अत्याधुनिक आकस्मिक भवन (इमरजेन्सी ब्लक) निर्माण हुने भएको छ।
लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठान काठमाडाैं– ७ सिफलचौरको सहयोगमा उक्त भवन निर्माण हुने भएकाे हाे। यस अघि २४ घण्टे फार्मेसी सेवा सुरु भएको अस्पतालमा अत्याधुनिक आकस्मिक भवन बनाउन लागिएकाे हाे।
प्रतिष्ठानले स्वास्थ्य सेवामा पहुँच नभएका नागरिकहरुलाई पनि न्यूनतम सेवा सुविधा पुर्याउने उद्देश्यले भवन निर्माण गर्न लागेको संस्थाका अध्यक्ष शोभाखर न्यौपानेले बताए। भवन निर्माण गर्न करिब १ करोड ५० लाख रुपैयाँ, उपकरणका लागि ७० देखि ९० लाख रुपैयाँ लाग्ने प्रतिष्ठानका महासचिव विष्णुप्रसाद न्यौपानेले बताए।
न्याैपानेका अनुसार १ वर्षसम्म भवन निर्माण गरेर अस्पतालाई हस्तान्तरण गर्ने लक्ष्य छ। इमरजेन्सी ब्लकमा सम्पूर्ण उपकरणहरु अत्याधुनिक रहनेछन्। २ बेडसहितको आइसियु रहनेछ। जसमध्ये एउटै बेडको उपकरणसहित झण्डै १५ देखि २० लाखसम्म खर्च लाग्नेछ। हाल २ तले भवन बन्ने र पछि ५ तलेसम्म बनाउन सकिने उनले जानकारी दिए।
आकस्मिक भवनको शुक्रबार लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानका संरक्षक कुन्तीदेवी न्यौपानेले शिलान्यास गरिन्।
.jpg)
शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सरकारी अस्पतालमा उपचार सम्भव छ भन्ने विरामीको मनोबल बढाउन मन्त्रालयले विभिन्न कार्यक्रमहरु अगाडि बढाएको बताए। उनले तीनै तहका सरकारले उपचारात्मक सेवालाई सबै नागरिक समक्ष पुर्याउनुपर्ने बताए।
सबै जिल्ला अस्पतालमा कम्तीमा ४ बेड आइसियू सेट गर्ने योजनाका लागि चाहिने जनशक्ति र उपकरणका बारेमा अध्ययन भइरहेको उनले बताए। प्रदेश ५ का १२ जिल्लामा रहेको स्वास्थ्यसँग सम्बन्धित प्रतिष्ठानलाई एकीकृत योजनाको साथ अगाडि बढाइएको मन्त्री बरालको भनाइ थियो।
जिल्ला समन्वय समिति रुपन्देहीका सभापति तथा भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज विश्वकर्माले प्रतिष्ठानको सहयोगले उच्चस्तरीय सेवा प्रदान सहयाेग पुग्ने बताए। सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा अस्पताल विकास समितिका सदस्य हरिप्रसाद अधिकारीले अस्पतालमा जनप्रतिनिधि आएपछि विभिन्न सुधारहरु भएको बताए।