जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलाे पटक आरथ्रोस्कोपीकाे शल्यक्रिया सुरु भएकाे छ।
प्रतिष्ठानका अर्थाेपेडिक विभागका प्रमुख डा मंगल रावलले शुक्रबार दुईजना बिरामीकाे आरथ्रोस्कोपी शल्यक्रिया गरिएकाे जानकारी गराए। उनले भने, ' ४३ वर्षीया महिलाको घुडाँको नसा च्यातिएकाे शल्यक्रिया गर्याैँ साथै अर्को एक जना ३० वर्षीय पुरुषकाे कुमको जोर्नी फुस्किएकाे जाेर्नीको शल्यक्रिया गरिएकाे हाे।'
शुक्रबार गरिएकाे शल्यक्रिया डा रावलको नेतृत्वमा डा धनबहादुर कार्की, डा पुजन रोकाया थिए भने एनेस्थेसियामा डा रविन खापुङ र डा अर्जुन तिवारी रहेका थिए। अमेरिकी अर्थाेपेडिक सर्जन डा माइक भ्यान एनराेइले विशेष सहयोग गरेका थिए।
हाडजोर्नी उपचारमा याे सेवा जटिल र महंगो मानिन्छ तर डा राववले प्रतिष्ठानले राजधानीका अस्पतालहरुभन्दा एकदमै सस्ताेमा सेवा दिइरहेकाे बताए।
आर्थोस्कोपी सेवामा दुरबिनको माध्यमबाट सानो प्वाल बनाएर जोर्नीभित्र अत्याधुनिक पद्धतिको प्रयोग गरी बिरामीको उपचार गरिन्छ।