चितवन- चितवन मेडिकल कलेजको होस्टल परिसरमा पेस्तोल भेटिएपछि प्रहरीले ५ सुरक्षा गार्डलाई नियन्त्रणमा लिएको छ।
शनिबार कलेज कम्पाउन्डमै पेस्तोल भेटिएपछि सोधपुछका लागि प्रहरीले ती सुरक्षागार्डलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार होस्टेल परिसरबाट ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोली बरामद भएको र सो सम्बन्धमा अनुसन्धान गर्न उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
कलेज प्रशासनमा भेटिएको पेस्तोल सबैभन्दा पहिले सुरक्षा गार्डले नै देखेका थिए।
मेडिकल कलेज प्रशासनले तोकिएभन्दा शुल्क असुलेपछि आन्दोलनरत विद्यार्थीमाथि त्रास फैलाउन कलेज प्रशासनले नै पेस्तोल राखेको विद्यार्थीले आरोप लगाएका छन्।
‘कलेज परिसरभित्र प्रहरी छिरेर गरेको अनुसन्धान नामक भ्रामक षड्यन्त्र गरी कलेज प्रशासन स्वयंले हतियार ल्याएको कलेजका विद्यार्थी सबै प्रत्यक्षदर्शी छौं,’ विद्यार्थीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
विद्यार्थीले कलेज प्रशासनका सबैलाई गिरफ्तार गर्न पनि माग गरेका छन्।
पेस्तोल कसले राखेको भन्ने खुली नसकेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।