काठमाडाैं- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले मेडिकल विद्यार्थीमाथि भएकाे आक्रमणप्रति ध्यानार्कषण गराएकाे छ।
युनियनले आज प्रेस विज्ञप्ति जारी गर्दै यूनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरुमाथि गरिएको दमन, षड्यन्त्र र ज्यान मार्नेसम्मका धम्किहरुले थप आक्रोशित बनाएको बताएकाे छ।
युनियनले शान्तिपूर्ण आन्दोलन र धर्नामा रहेका विद्यार्थीहरुलाई होस्टलमा बस्ने र जीवनको शुरक्षाको प्रवन्ध मिलाउन प्रशासनलाई सचेत गराएकाे छ। साथै सरकारले पछिल्लो पटक दिएको १५ दिनको समय सिमा भित्र शुल्क कार्यान्वयन र समायोजन गर्न पून मेडिकल कलेजहरुलाई आग्रह समेत गरेकाे छ।
निर्धारित समय भित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेशन खारेज गर्न, अध्ययनरत विद्यार्थीहरुको व्यवस्थापन गर्न, निर्धारितभन्दा बढी शुल्क लिने कलेज सञ्चालकहरुलाई गिरफ्तार गरी कारबाही अगाडी बढाउन सरकारलाई युनियनले आग्रह गरेकाे छ।
कारबाही अगाडी नबढाइए अनेरास्ववियू कडा आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तीमा उल्लेख छ।
अनेरास्ववियूले खबरदारी र दबाव बढाउन मेडिकल कलेजका विद्यार्थीहलाई अपिल गर्दै मेडिकल कलेज सञ्चालकहरुको षडयन्त्र र दमनका विरुद्ध आज दिउँसो १ बजे नेसनल मेडिकल कलेज अगाडि हुने वृहत विरोध प्रदर्शन कार्यक्रममा सहभागि हुन पनि विद्यार्थी साथीहरुलाई अपिल गरेकाे छ।