काठमाडाैं- वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा शुक्रबार दिउँसो विद्यार्थीमाथि भएकाे आक्रमणका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईकाे नेतृत्वमा शनिबार चार सदस्यीय समिति गठन गरिएकाे हाे।
भट्टराईले स्वास्थ्यखबरलाई भने, 'जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको नेतृत्वमा समिति गठन गरिएको हाे।' उनले समितिले घटनाबारे सत्यतथ्य पत्ता लगाउने बताउँदै रिपोर्टका आधारमा दाेषी पत्ता लगाइने बताए।
अतिरिक्त शुल्क फिर्ताको माग राखेर आन्दोलनरत नेसनल मेडिकल कलेजका विद्यार्थीमाथि कलेज प्रशासनले शुक्रबार कुटपिट गरेकाे थियाे। शान्तिपूर्ण धर्नामा बसेका विद्यार्थीमाथि कलेज प्रशासनबाट परिचालित व्यक्तिहरुले आक्रमण गरेका थिए।
कलेज प्रशासनको कोटाबाट पढेका पुराना विद्यार्थीले आन्दोलनरत प्रथम वर्षका महिला विद्यार्थीमाथि आक्रमण गरेको बताइएको छ। आक्रमणपछि कलेज क्षेत्र तनावपूर्ण भएको थियाे। आक्रमणपछि दुई पक्षमा दोहोरो भिडन्तको अवस्था सिर्जना भएपछि प्रहरीले छुट्याएको थियाे। महिला विद्यार्थीमाथि समेत भौतिक आक्रमण गरिएपछि दोहोरो भिडन्तको अवस्था सिर्जना भएको विद्यार्थीहरुले बताउँछन्।
बिहीबार पनि कलेजमा तनावको अवस्था आएको थियो। कलेज प्रशासनले विद्यार्थीहरुलाई होस्टल प्रवेशमा समेत रोक लगाएपछि तनाव उत्पन्न भएको थियो।
सरकारले तोकेकोभन्दा बढी शुल्क उठाएको विरोधमा विद्यार्थीले कलेज परिसरमा धर्ना लगायतका विरोधका कार्यक्रम गर्दै आइरहेका छन्।