काठमाडौं– सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले भोलिसम्म रकम फिर्ता नगरे कारबाही प्रक्रीया अगाडि बढाउने भएको छ।
गृहमन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थित बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क भोलिसम्म फिर्ता नगरे आवश्यक कारबाही गर्ने निर्णय गरेको हो।
यसअघि गत असोज र कात्तिकमा गृहमन्त्रालयमा गृहमन्त्री र शिक्षामन्त्री लगायतका पदाधिकारीहरुसहित बसेको बैठकले सुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसिमा दिँदै बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारबाही अघि बढाउने निर्णय गरेको थियो। सरकारले दिएको १५ दिनको समयसिमा भोलि सकिँदैछ।
गतवर्षको मन्त्रिपरिषद बैठकले बढी शुल्क लिएमा कलेज विरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको छ।
आज शिक्षा मन्त्रालयमा भएको छलफलमा मेडिकल कलेज सञ्चालक शुल्क समायोजन गर्न सहमत भएका छन्। उनीहरुले भोलिसम्म लिखित प्रतिबद्धता नै दिने भएका छन्।