काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ। प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा सफल शल्यक्रिया भएको हो।
त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा अरुण सायमीले जानकारी दिए।
‘शल्यक्रिया सफल भएको छ,’ उनले भने, ‘सानो शल्यक्रिया हो। अब स्वास्थ्यका अरु विवरण हेरेर अस्पतालमा कति समय बस्ने भन्ने निर्धारण हुन्छ।’
प्रधानमन्त्री ओलीको पेट असाध्यै दुखेपछि बिहान साढे ९ बजे अस्पताल भर्ना गरिएको थियो।
के हो एपेन्डिसाइटिस?
एपेन्डिसाइटिस एउटा इमर्जेन्सी अवस्था हो। पेट दुखेको २४ घण्टा भित्रै अप्रेशन गरेर एपेन्डिक्स भन्ने अंगलाई पेटबाट काटेर फाल्नुपर्छ।
हाम्रो शरीरमा विकास भएको तर काम नलाग्ने अङ्गका रुपमा रहेको एपेन्डिक्स ५ देखि ७ सेमि जति लामो ट्युव आकारमा हुन्छ। यो दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठुलो आन्द्रा जोडिएको भागको पछाडिपट्टी रहेको हुन्छ।
एपेन्डिसाइटिस हुनुको प्रमुख कारण एपेन्डिक्सको नलीमा कुनै संक्रमण वा पेटमा रहेका परिजीबी हो। फाइबर नभएको खाना खाँदा, लामो समयसम्म कब्जियत भएपनि यो समस्या आउने गर्छ। यसरी लगातार एपेन्डिक्समा लामो समयसम्म रोकावट आउनाले यो सुन्निएर संक्रमण भइ फुट्ने अवस्थामा आउँछ। यदी यो फुट्यो भने पेट र रगतमा संक्रमण फैलाउने संभावना हुन्छ।
यो रोग नभइ इमर्जेन्सी अवस्था हो। ट्युवमा कुनै संक्रमण भए पश्चात अचानक ग्याँष्ट्रिकका जस्तै लक्षण महशुस हुन्छ। जस्तै वाकवाकी लाग्ने, नाइटोको वरीपरि दुख्न, हल्का ज्वरो आउने, वान्ता हुने। विस्तारै लक्षण बढ्दै गएपछि बेस्सरी पेट दुख्ने तथा पेटको तल्लो दायाँ भागमा दुख्ने क्रम बढदै जाने हुन्छ।
यस्तो भएमा कसैलाई झाडापखाला तथा छिटो–छिटो पिसाब लाग्ने हुन्छ। यी लक्षणहरु अप्रेशन गर्नुभन्दा ७ देखि ८ घण्टा अगाडि देखा पर्छन्। विभिन्न परिक्षणहरु जस्तै रक्त परिक्षण, युरिन टेष्ट तथा अल्ट्रासाउण्डद्वारा एपेन्डिक्स सुन्निएको मात्र हो या फुटिनै सकेको छ भन्ने पत्ता लगाउनुपर्ने हुन्छ। यी रिपोर्टका आधारमा डाक्टरहरुले अवस्था हेरेर उपचार शुरु गर्छन्।
जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यस्तो हुन सक्छ।
.jpg)