काठमाडौं- वरिष्ठ मुुटुरोग विशेषज्ञ डा यादवकुमार देव भट्टलाई यो वर्षको विज्ञान पुरस्कार प्रदान गरिएको छ।
मुटुरोगको उपचारका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले डा भट्टलाई ‘विज्ञान पुरस्कार २०७६’ प्रदान गरेको हो। डा भट्ट नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत छन्।
मुटुरोगको उपचारमा नेपालमा उच्च प्रविधिको इन्टरभेन्सनल (बिनाचिरफार गरिने मुटुरोग उपचार) प्रविधिको सुरुवात, विकास र प्रवद्र्धन मार्फत् नेपालीहरुको मुटुरोग उपचारमा उल्लेख्य योगदान पुर्याए वापत प्राडा भट्टलाई उक्त पुरस्कारद्वारा सम्मानित गरिएको नेपाल विज्ञान तथाप्रविधि प्रज्ञा–प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले डा भट्टलाई मंसिर २० गते उक्त पुरस्कार प्रदान गरेको हो।
नर्भिक अस्पतालमा आउनुअघि डा भट्ट सहिद गंगालाल हृदय केन्द्रमा कार्यरत थिए। डा भट्टले चिकित्साशास्त्रमा स्नातोकोत्तर गरे लगत्तै भारतको चण्डीगडस्थित ख्यातिप्राप्त ‘पोष्ट ग्राजुयट इन्स्टिच्युट उफ मेडिकल एजुकेशन एण्ड रिसर्च’ बाट इन्टरनल मेडिसिनमा एमडी हासिल गरेका हुन्। उनले सन् २००० मा सोही इन्स्टिच्यटबाट मुटुरोग उपचारमा विशेषज्ञतासहितको उपाधि डिएम हासिल गरेका हुन्।
एस्कर्टस् हार्ट इन्सिटच्युटमा इन्टरभेन्सनल मुटुरोग उपचारमा २ बर्षे गहन तालिम पश्चात् उनले सन २००३ मा भारतकै नेशनल बोर्ड अफ एक्जामिनेशन्, नयाँ दिल्लीबाट इन्टरभेन्सनल कार्डियोलोजीमा डिप्लोम्याट अफ नेशनल वोर्डको उपाधिहात पारेका थिए।
सन् २००३ मा नेपाल फर्किएर उनले गंगालालमा मुटुरोगको उपचारमा इन्टरभेन्सनल प्रविधिको सुरुवात गरेका थिए।
डा भट्टले हालसम्म ५ हजारभन्दा बढी कोरोनरी एन्जियाग्राफि, ३ हजार भन्दा बढी कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण, एक हजार भन्दा बढी माइट्रल, एओर्टिक एवं पल्मोनरी भल्भोटोमीहरु, पेसमेकर जडान, एएसडी, पिडीए डिभाइस क्लोजर लगायत अन्य थुप्रै इन्टरभेन्सनल प्रक्रियाहरु सम्पन्न गरिसकेको छन्।
डा भट्ट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका प्राध्यापक समेत हुन् भने मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका भिजिटिङ्ग प्राध्यापक पनि हुन्।
डा भट्ट सन् २०१६ मा सुप्रवल जनसेवाश्रीद्वारा विभूषित समेत भएका थिए।