काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सिनेट बैठक पुस अन्तिम साता हुने भएको छ। यसअघि प्रतिष्ठानको सिनेट बैठक गत कात्तिक २२ गते तोकिएको थियो।
तर, अन्तिम समयमा बैठक स्थगित गरिएको थियो। सिनेट बैठक बस्न नसक्दा प्रतिष्ठानका धेरै काम रोकिएका छन्।
प्रतिष्ठानको कामलाई अगाडि बढाउन सिनेटको बैठकको नयाँ मिति तोकिएको छ।
प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका अनुसार पुस २५ गते सिनेट बैठक बस्ने तयारी भएको छ।
यसअघिका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले ४३औं सिनेट बैठक अन्तिम अवस्थामा आएर स्थगित गरेका थिए। उनले आफू निकटका व्यक्तिलाई रजिष्ट्रार बनाउन दबाब दिएका थिए।
यादवले रजिष्ट्रार बिना बैठक हुन नसक्ने अडान लिएपछि स्थगित भएको हो। प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठ भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि प्रतिष्ठान रजिष्ट्रारबिहीन छ भने तत्कालीन उपकुलपति डा राजकुमार रौनियार पनि घुस रकमसहित अख्तियार टोलीबाट पक्राउ परेपछि रेक्टर गुरुप्रसाद खनाललाई कार्यबाहक उपकुलपतिको जिम्मेवारी दिइएको छ।