जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर) पदमा तीन जनाको नाम सिफारिस भएको छ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजेन्द्रराज वाग्लेले शिक्षाध्यक्ष पदको नियुक्तिका लागि डा. निरेश थापाको नाम पहिलो नम्बरमा सिफारिस गरेका हुन् । दोस्रोमा प्रा.डा.भरतमणि पोखरेल र तेस्रोमा प्रा.डा.बद्री बडु सिफारिस भएको उपकुलपति वाग्लेले जानकारी दिए ।
निवर्तमान रेक्टर डा.धर्मराज श्रेष्ठको कार्यावधि जेठ २५ गते सकिएपछि सात महीनादेखि प्रतिष्ठान रेक्टरविहिन् छ ।
स्रोतका अनुसार प्रतिष्ठान जुम्लाको मेडिकल निर्देशकको जिम्मेवारी पाइसकेका एशोसियट प्रोफेसर डा.थापाको कार्यसम्पादन शैलीलाई मूल्याङ्कन गर्दै प्रतिष्ठानले शिक्षाध्यक्ष पदमा डा. थापालाई नियुक्ति गर्ने आन्तरिक गृहकार्य गरिसकेको छ ।
उपकुलपति वाग्लेले भने, ‘प्रतिष्ठानमा नै योग्य जनशक्ति भएको र कार्यरत जनशक्तिलाई स्थान दिँदा काम गर्ने उर्जा मिल्ने भएकोले डा.थापालाई पहिलो नम्बरमा सिफारिस गरेको हुँ ।’
प्रतिष्ठान ऐन, २०६८ को दफा २१ को (१) बमोजिम सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसमक्ष बिहीबार शिक्षाध्यक्ष नियुक्तिको सिफारिस गरिसकिएको उपकुलपति वाग्ले जानकारी दिए । उनका अनुसार सहकूलपतिले शिक्षाध्यक्ष नियुक्ति गरेसँगै प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक गतिविधि सञ्चालनमा सहजता आउनेछ । लामो समय देखि रिक्त शिक्षाध्यक्ष पदले पुर्णता पाउनेछ ।
प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले कर्णालीको भूगोल र यहाँका नागरिकहरुलाई सहज, सुलभ र विश्वसनीय स्वास्थ्य सेवा दिएर मन जितेकोले पनि शिक्षाध्यक्षमा डा.थापाको सुनिश्चितता बढेको बताउँछन् । “यो पदका लागि उनी उर्जाशील, मेहनती, लगनशील योग्य उम्मेदवार देखिन्छन्, रजिष्ट्रार काफ्लेले भने, ‘कार्यरतलाई नै कामगर्ने स्थान दिएमा यहाँको व्यक्ति, संस्था र समाज सबैलाई हित हुन्छ ।”
.jpg)