भैरहवा- भैरहवास्थित भीम अस्पतालमा बालरोगको विशेषज्ञ उपचार सेवा सुरु गरिएको छ। विशेषज्ञ चिकित्सकको अभावमा दरवन्दी भएर पनि सेवा दिन नसकिरहेको अवस्थामा करारमा बालरोग विशेषज्ञ डाक्टर नियुक्त गरेर अस्पतालमा सेवा सुरु गरिएको हो।
अस्पताल विकास समितिले बालरोग विशेषज्ञ डा आरिफ हुसेनलाई जिम्मेवारी दिएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले जानकारी दिए। अस्पतालमा आवश्यक पूर्वाधार र उपकरण उपलब्ध भएपनि दरवन्दीका डाक्टर नहुँदा विशेषज्ञ सेवा सञ्चालन हुन सकेको थिएन।
अस्पतालमा भैरहवा आसपास, मर्चबार, लुम्बिनी, धकधई तथा जिल्लाका दक्षिणी क्षेत्रका बासिन्दा स्वास्थ्य सेवा लिन आउँछन् । अस्पताल आउने बिरामीमध्ये ८० प्रतिशत महिला र बालबालिका रहेको सूचना अधिकारी उपाध्यायले बताए।
उनका अनुसार अस्पतालबाट वार्षिक करिब ७० हजारले सेवा लिइरहेका छन्।
अस्पतालमा हाल २४ सै घण्टा फार्मेसी सेवा पनि सञ्चालन भइरहेको छ। ल्याब र एक्स–रे सेवा १२ घण्टा प्रदान गरिंदै आएको छ। ल्याब र एक्स–रे पनि छिट्टै २४ सै घण्टा सेवा दिनेगरी तयारी भइरहेको उपाध्यायले बताए।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले शल्यक्रिया सेवाअन्तर्गत पेट चिरेर पाठेघरको शल्यक्रियागर्न थालिएको बताए।
अस्पताललाई सफा र सुन्दर बनाउन फूलवारी निर्माण गर्ने, शुद्ध पिउने पानीको व्यवस्था तथा ओपिडीमा चेकजाँचका लागि टिकट लिने ठाँउमा भीड व्यवस्थापन र बिरामीको सहजताकालागि टोकन सिस्टम लागू गर्ने तयारी गरेको डा दर्नालले बताए।