धनगढी– सुदूरपश्चिममा निर्माणाधिन गेटा मेडिकल कलेजको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। मेडिकल कलेजको निर्माण अन्तिम चरणमा पुगेपनि यसको मोडालिटिको विषय भने अझै अन्यौलमै रहेको छ।
गेटा मेडिकल कलेजलाई कलेजका रुपमा नभई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाइनुपर्ने यस क्षेत्रका सरोकारवालाहरुको माग रहदै आएको छ। मेडिकल कलेजको निर्माणमा महत्वपूर्ण योगदान पुर्याएकाहरुले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने सुझाव दि“दै आएका छन्।
गेटा मेडिकल कलेज पुर्वाधार विकास समितिका पूर्व कार्यकारी निर्देशक डाक्टर भीमसिंह टिंकरीले स्वास्थ्य विज्ञान प्रतिष्ठान नै उपयुक्त हुने बताए।
‘मेडिकल कलेज नै भए अस्पताल सञ्चालन भएको तीन बर्षपछि मात्रै कलेजको पढाई सुरु गर्न पाईने मापदण्ड रहेको छ,’ उनले भने– ‘अन्य विश्व विद्यालयको सम्वन्धन लिनुपर्ने बाध्यकारी नियम छ। तर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन भए कलेज र अस्पताल संगै सुरु गर्न सकिने र आफैँमा स्वायत्त हुने भएकाले सुदूरपश्चिमका लागि उपयुक्त हुने छ।’
गेटामा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि आधारभुत भौतिक संरचना तयार भईसकेको बताउ“दै उनले अहिलेसम्म कुन प्रारुपमा सञ्चालन हुने भन्ने विषयमा समेत टुङगो नलाग्दा तयार भएका भवन पनि प्रयोग विहिन बन्ने सम्भावना बढ्दै गएको बताए।
गेटा मेडिकल कलेज पुर्वाधार विकास समितिका पूर्व कार्यकारी निर्देशक हेमराज पुजाराले मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानका आ–आफनै विशेषता भएकाले सो बारेमा अध्ययन गर्दै अगाडी बढ्नुपर्ने बताए।
‘मेडिकल कलेज भए परनिर्भर हुनपर्ने देखिएको छ,’ उनले भने– ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान भए कुनै पनि निर्णय गर्न कसैको भर पर्नुपर्ने अवस्था छैन्।’ उनले सुदूरपश्चिम विश्वविद्यालयको अवस्था बलियो भएको भए सोही विश्वविद्यालयबाट सम्वन्धन लिएर मेडिकल कलेजकै प्रारुपमा सञ्चालन हु“दा पनि ठुलै समस्या नहुने तर्क गरे।
भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेस“गै एक दशकदेखि बहुप्रतिक्षा गरिएको सुदूरपश्चिमको यो प्रस्तावित मेडिकल कलेज सञ्चालनका लागि कानुनी आधार बनाउन प्रदेश सरकारले समेत तदारुकता थालेको छ।
शैक्षिक तथा अस्पतालसहित प्रमुख संरचना यसै वर्ष्भित्र निर्माण पूरा हुने अवस्थामा रहेको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका इन्जिनियर पवन रावलले बताए । रावलका अनुसार परियोजनाको १० देखि १५ प्रतिशत काम मात्रै बा“की छ। कलेज भवन भने, हस्तान्तरणको अन्तिम तयारी हुँदैछ।
कलेजका लागि आवश्यक पर्ने शैक्षिक भवन, अस्पताल, छात्रावाससहित साना ठूलागरी २७ भन्दा बढी भौतिक संरचना निर्माणको अन्तिम चरणमा छ। अहिले भवनको भित्री भागमा ‘फिनीसिङ’, झ्याल, ढोका लगाउने र छेउछाउमा ट्रेन्च बनाउने काम भइरहेको छ।
गेटा मेडिकल कलेजका लागि हालसम्म साढे तीन अर्ब रुपैया“ खर्च भइसकेको छ। यो वर्ष मात्रै सरकारले १ अर्व २५ करोड बजेट विनियोजन गरेको छ। गुरुयोजना अनुसारको पूर्वाधार तयार गर्दा ७ अर्व हाराहारीमा खर्च लाग्ने रावलको भनाई छ।
रकमले पूर्वाधारस“गै अस्पतालका उपकरणलगायत सेवामुलक सामग्रीसमेत खरिदमा खर्च हुनेछ। निर्माण सम्पन्न गरेर आर्थिक वर्ष २०७७/०७८ देखि पढाइ सञ्चालन गर्ने सरकारी लक्ष्य छ।
तीन सयका शैय्याका गरी दुई वटा अस्पताल, मुख्य प्रशासनीक भवन, कर्मचारी र चिकित्सक आवास, दुई वटा होस्टेलको निर्माण भइरहेको छ। कतिपय संरचनाको सम्झौता यो वर्ष सकिने र केही संरचना निर्माणका लागि अर्को आर्थिक वर्षसम्म सम्झौता अवधि रहेको समितिले जनाएको छ।
जसमध्ये प्रशासनीक भवनको निर्माण समयमा सक्न कठीन हुने देखिएको आयोजनाले जनाएको छ। दश वर्षअघि नै कलेज संचालन गर्ने योजना अगाडि सारिएपनि लामो समयसम्म तोकिएको क्षेत्रका रुख कटानमा वन कार्यालयले अवरोध गरेपछि ढिलाई भएको थियो। अहिले पनि केही मुक्तकमैया बस्दै आएको जग्गाको भोगाधिकारी अझै कलेजको नाममा आइसकेको छैन्।
पूर्वाधार अन्तिम चरणमा पुगेपनि कलेजका सम्पूर्ण निर्माण सक्ने गुरुयोजना अनुसार लक्ष्य आर्थिक वर्ष २०८०/०८१ सम्म रहेको छ। पहिलो चरणमा कलेजका लागि आवश्यक पर्ने न्यूनतम् पूर्वाधार बनाएर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने र विस्तारै सेवा सुविधा थप्दै जाने सरकारको तयारी छ । नेपाल सरकारले आर्थिक वर्ष २०६६/०६७ मा मेडिकल कलेज निर्माणको घोषणा गरेको थियो।