प्युठान- प्युठानका १२ वटा स्वास्थ्य संस्था किशोर-किशोरीमैत्री स्वास्थ्य सेवा प्रवाहका लागि योग्य भएका छन्।
स्वास्थ्य सेवा बिभागको परिवार कल्याण महाशाखाले यस वर्ष जिल्लाका थप ६ वटा स्वास्थ्य संस्था किशोर-किशोरीमैत्री स्वास्थ्य सेवा प्रवाहका लागि प्रमाणिकरण गरेको हो। गत आर्थिक वर्षमा जिल्लाका ६ वटा स्वास्थ्य संस्था प्रमाणिकरण गरिएका थिए ।
महाशाखाका निर्देशक डा भीमसिंह तिङ्कारी नेतृत्वको टोली जिल्लामै आएर स्वास्थ्य संस्था प्रमाणिकरण गरेको हो । यस वर्ष प्राथमिक स्वास्थ्य केन्द्र खलगां, तोरबाङ, धरमपानी, बर्जिबाङ सापडाँडा र देवीस्थान स्वास्थ्यचौकी किशोर-किशोरीमैत्री सेवाका लागि प्रमाणिकरणमा परेको स्वास्थ्य कार्यालय प्रमुख विशाल सुबेदिले जानकारी दिए।
आर्थिक वर्ष २०६६/६७ देखि देशका ५ जिल्ला बर्दिया ,दैलेख, सुर्खेत, जुम्ला, बैतडीका २६ वटा स्वास्थ्य संस्थाबाट किशोर-किशोरी यौन तथा प्रजनन् स्वास्थ्य कार्यक्रम निर्देशिका बमोजिम सुरु भएको अभियान अन्तर्गत प्युठान जिल्लाका साबिकका ४९ वटै स्वास्थ्य संस्था किशोर-किशोरीमैत्री सूचीकृत भैसकेका छन्।
यसअघि प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्री, सोत्रे, गोठीबाङ, खैरा,बरौला र ओखरकोट स्वास्थ्यचौकीले उक्त सेवा प्रवाह गरिरहेको सुबेदिले जानकारी दिए। सेवाको गुणस्तर अभिवृद्धी तथा प्रमाणिकरण सामग्री २०७२ बमोजिम नौवटा विभिन्न मापदण्ड पूरा गरे पश्चात् स्वास्थ्य संस्था प्रमाणिकरण गरिएको हो।
स्वास्थ्य चौकी आफैं, स्वास्थ्य कार्यालय र परिवार स्वास्थ्य महाशाखाले मापदण्ड पूरा गरे/नगरेको बारेमा अनुगमन गरेपछि सेवा प्रवाहका लागि प्रमाणित भएका हुन्। किशोर-किशोरीमैत्री सेवाप्रवाहले गर्दा स्वास्थ्यका अन्य सूचकमा समेत सुधार ल्याउन सहयोग पुगेको स्वास्थ्य प्रमुख सुबेदिले बताए। चालू आर्थिक वर्षमा अन्य ५ वटा स्वास्थ्यसंस्थाहरु किशोर-किशोरीमैत्री स्वास्थ्य सेवा प्रमाणिकरण गर्ने योजना रहेको स्वास्थ्य कार्यालय प्युठानले जनाएकाे छ।
आर्थिक वर्ष २०७४/७५ को स्वास्थ्य सेवा बिभागको बार्षिक प्रतिवेदनअनुसार नेपालमा ७३ र प्रदेश ५ का १८ वटा स्वास्थ्य संस्था प्रमाणिकरण भैसकेको महाशाखाले जनाएकाे छ। स्वास्थ्य संस्था प्रमाणिकरण भए पश्चात् गुणस्तरिय स्वास्थ्य सेवा सुनिश्चिता, व्यावस्थापन, किशोर किशोरीको अधिकार, सीप तथा क्षमता अभिवृद्धी र दिगोपनाको आधारको सुनिश्चितता हुने छ।
प्रमाणिकरणका सुचकहरु
किशोर-किशोरीमैत्री सूचीकृत भएपछि सेवाको गुणस्तर र दिगोपनाको आधारमा स्वास्थ्य सेवा बिभागले प्रमाणिकरण गर्छ।
प्रमाणिकरण भएको ५ बर्षपछि पुनः मापदण्ड मूल्याकंन गरेर प्रमाणिकरण गर्नुपर्ने प्रावधान छ। महाशाखाका अनुसार प्रमाणिकरणका लागि किशोर–किशोरीहरुको आवश्यकताअनुसारका स्वास्थ्य सेवा भएको हुनुपर्ने, किशोर–किशोरीहरुका लागि प्रभावकारी सेवा प्रवाह भएको हुनुपर्ने, किशोर–किशोरीले सेवा लिने उपयुक्त वातावरण भएको हुनुपर्ने, किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान दिन सक्षम भएको हुनुपर्ने व्यवस्था छ।
त्यस्तैगरी चाहेकै बेला सजिलैसँग किशोर–किशोरीले सेवा लिन सक्ने, सूचना र सञ्चारमा जागरुक बनाउन सक्ने, सीपमा आधारित यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धीको सीप प्रदान गर्ने सक्ने, किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको उपयोग गर्न सक्ने व्यवस्था रहेको हुनुपर्ने प्रावधान छ।
स्वास्थ्य क्षेत्र रणनीति २०१५/२०२० तथा नेपाल स्वास्थ्य क्षेत्र रणनीति कार्यान्वयन योजना २०१६/२०१९ लाई ध्यानमा राख्दै हाल नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोर किशोरी स्वास्थ्य तथा बिकास रणनिती २०७५ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। यो कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सके नेपालको दिगो विकास लक्ष २०३० हासिल गर्न उल्लेख्य टेवा पुग्ने विश्वास महाशाखाले लिएको छ।