समर्पण श्री
आँगनमा खेल्दै थिइन् लमजुङकी ५ वर्षीया बालिका जोनिशा तामाङ। खेल्दाखेल्दै उनी तातो पानीले भरिएको भाँडोमा लड्न पुगिन्। शरीरभरि तातो पानी पोखियो। उनको अनुहार चिन्नै नसक्ने गरी जल्यो।
दुर्घटना हुनेबित्तिकै जोनिशालाई लमजुङको स्थानीय अस्पताल लगियो। त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा पुर्याइयो।
गत आइतबार हामी अस्पताल पुग्दा जोनिशाका दुवै आँखा बन्द थिए। उनले आँखा खोल्न नसकेको थुप्रै दिन भइसकेको थियो। उनको अनुहारको सबै भाग पोलिएको थियो। हेरचाहमा बसिरहेकी उनकी आमा छोरीको आँखा खुल्ने प्रतीक्षा गरिरहेकी थिइन्। जोनिशा मसिनो आवाजमा आफ्नी आमालाई सोधिरहेकी थिइन्, ‘मामु मैले केही देख्न सकेको छैन। तपाईंहरूले पनि मेरो आँखाले जस्तै केही देख्नुभएको छैन हो?’
०००
ओखलढुंगा घर भएकी ७ वर्षकी नानुमाया विक बिहान स्कुल जाने तयारीमा थिइन्। पानीले उनको स्कुल ड्रेस भिजेको थियो। भिजेको कपडाका कारण चिसो भएको शरीर सेकाउन उनी चुल्होेमा बलिरहेको आगो ताप्न गइन्। आगो ताप्ने क्रममा नानुमायाको कपडा अचानक आगोले टिप्यो र पिँडुला, कम्मर हुँदै हातसम्म पुग्यो। तत्काल छिमेकीले देखेर उनको शरीरमा पानी खन्याइदिए।
त्यसपछि नानुमायालाई २५ दिन ओखलढुंगा अस्पतालमा राखियो।
हामी जाँदा कीर्तिपुर अस्पतालमा ल्याइएको करिब ५ दिन भएको थियो। त्यता उपचार सम्भव नहुने भएपछि कीर्तिपुर अस्पताल ल्याइएको रहेछ। अस्पतालमा नानुमायाको हेरचाह उनका दाजुले गरिरहेका थिए।
‘नानुको उपचारमा धेरै खर्च भइसक्यो। घरमा आमा एक्लै हुनुहुन्छ। बाले अर्की आमा ल्याएपछि हामीलाई छाडिदिए। बहिनीको उपचारमा पैसा जुटाउन धेरै गाह्रो भएको छ,’ नानुमायाका दाजु भन्दै थिए।
०००
सोलुखुम्बु घर भएका २ वर्षीय प्रशान्त बस्नेत मंसिर दुई गते घरमै खेलिरहेका थिए। लडेर तताइरहेको पानीको भाँडोमा उनको हात पर्यो। तातो पानीले उनको हात (१८ प्रतिशत भाग) पोलेको थियो। उनलाई उनकी आमा देविका बस्नेतले तुरुतै अस्पताल लगिन् र करिब २ हप्ता अस्पताल राखियो। ‘अहिले बेलाबेलामा बाबुको ड्रेसिङ गरिरहनुपर्छ। अझै निको हुन बाँकी छ,’ आमा देविकाले भनिन्।
०००
पुस ११ गते बिहान १० बजे खाना खाएर हात सेकाउने क्रममा सिरहाकी ३२ वर्षीया मञ्जुकुमारी साहको कपडामा आगो सल्कियो। कपडामा सल्केको आगो उनको शरीरमा फैलियो। नजिकै रहेका उनका श्रीमान्ले देखेपछि ब्ल्यांकेटले शरीरमा लागेको आगो निभाए। र, तुरुन्तै अस्पताल लगे।
आगोले उनको शरीरको ३० प्रतिशत भाग जलेको थियो।
‘खर्च डेढ लाख भइसक्यो। सहयोग गर्ने कोही छैन। उपचार भए त घर जग्गा बेचेरै पनि गर्नुहुन्थ्यो,’ उनका श्रीमान्ले भने।
०००
पुस २७ गते स्वास्थ्यखबर संवाददाता कीर्तिपुर अस्पताल पुग्दा जलेका थुप्रै बिरामी उपचाररत थिए। ‘असोजपछि पोलेका बिरामीको संख्या बढ्छ। डाक्टरहरूको कामको चाप पनि बढिरहन्छ। हामीलाई फुर्सद पाउनै मुस्किल हुन्छ,’ अस्पतालका निर्देशक तथा प्लास्टिक सर्जन डा शंकरमान राईले स्वास्थ्यखबरसँग भने।
अस्पतालमा ४५ प्रतिशत शरीर जलेकी रौतहट गणिमाईकी बबिता कर्ण पनि उपचाररत थिइन्। ‘उहाँको थुप्रै पटक अप्रेसन भइसकेको छ। तर शरीरले हालिएको छालालाई त्यति राम्रो सपोर्ट गरेको छैन। अहिले ड्रेसिङ गर्ने र खानेकुरामा बढी फोकस गरिरहेका छौँ। केस क्रिटिकल नै छ,’ स्टाफ नर्स सुनिता अर्यालले भनिन्।
घटनाबारे उनका श्रीमान् आदित्यकुमार लालले बेलिविस्तार लगाए, ‘उनी बिहान ५ बजे उठिन्। गाईको गोबर सोहोरिन्। हात कठ्यांग्रिएको थियो। पराल ल्याएर आगो बालिन्। आगो ताप्ने बेलामा अगाडिबाट तापिन्। पछाडि फर्किने बेलामा कपडामा आगो सल्कियो। एकै चोटी ह्वार्र शरीरभरि आगो गएछ। म बाहिर थिएँ। भाइले बल्लतल्ल आगो निभाएछ। म एक किलोमिटर जति पर थिएँ। भाइको फोन आयो। त्यसपछि हामीले नजिकैको अस्पताल लग्यौं। मसिंर १९ गते बिहान साढे ५ बजे कीर्तिपुर ल्यायौं।’
लामो समय अस्पताल बसाइले आर्थिक जोहो गर्न पनि मुस्किल परेको आदित्य कुमारले बताए। ‘ऋण धेरै गरिसकियो। अवस्था गम्भीर छ भन्नुहुन्छ। सन्चो बनाएरै लिएर जान्छु भन्ने आशा राखेको छु,’ उनले भने।
त्यस्तै अस्पतालमा ४० प्रतिशत भाग आगोले पोलिएकी सिरहाकी ३५ वर्षीया अनितादेवी सदा उपचाररत थिइन्। आर्थिक अवस्था कमजोर भएकी उनको उपचार अस्पतालले निःशुल्क गरिरहेको रहेछ। ‘अप्रेसन दुई पटक भएको छ। पेटमा अलिकति बाँकी छ। उहाँको अवस्था पनि जटिल नै छ,’ स्टाफ नर्स अर्यालले भनिन्।
‘खाना खाएर बच्चालाई सुताउन ओछ्यान मिलाउँदै थिइन्। त्यही बेलामा उनको छोरा मट्टितेल लिएर घर भित्र छिर्यो। चुल्हो नजिकै थियो। मट्टिेल आगोले टिप्यो र कपडाबाट सल्किएर उनको शरीरमा गयो,’ अनितादेवीका काकाले भने। पैसा नभएर उपचार गर्न नसक्ने भएपछि अस्पतालले निःशुल्क उनको उपचार गरिरहेको उनले बताए।
०००
जाडो समयमा आगोेले पोलेका बिरामीको संख्या अत्यधिक बढ्ने चिकित्सकहरू बताउँछन्। कीर्तिपुर अस्पतालमा अघिल्लो वर्षमात्र ६ सय ८ जना आगोले पोलेका बिरामीले उपचार पाएको अस्पतालका निर्देशक डा राईले बताए। जसमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहेको अस्पतालको तथ्यांकमा छ। यो वर्ष मात्र करिब ६६ जना पालेकाका बिरामीले कीर्तिपुर अस्पतालमा उपचार गरेको डा राईले बताए।
जाडो मौसममा पोलेका बिरामीको चाप अत्यधिक हुने अस्पतालका प्लास्टिक सर्जन डा मनिष यादवले बताए। ‘दिनमा १८ वटा अप्रेसनको लिस्ट राख्छौं। तर नभ्याएर १० वा १२ जनाको मात्र अप्रेसन गरिरहेका छौँ। बिहान ९ बजेदेखि ७ बजेसम्म अप्रेसन गरिरहेका छौं,’ डा यादवले भने।
सुष्मा कोइराला मेमोरियल अस्पतालमा आर्थिक वर्ष २०७५/०७६ मा १ सय ३३ जना ‘बर्न’ का बिरामीले ओपिडीमार्फत सेवा लिएका थिए भने १०० जना बिरामी भर्ना भएका थिए। जसमध्ये गत आवमा ७ जना बिरामीको मृत्यु भएको थियो।

कीर्तिपुर अस्पतालमा भने गत वर्ष उपचार गर्न ल्याइएकामध्ये २५ प्रतिशत बिरामीको उपचारकै क्रममा ज्यान गएको अस्पताल स्रोतले जनाएको छ।
जाडो छल्नभन्दा बाहेक चैतपछि डढेलो वा गोठमा आगो लागेर तथा चट्याङ परेर पोलेका बिरामी अस्पताल आउने डाक्टरहरू बताउँछन्।
पोलेका बिरामी धेरैजसो मधेसका
धेरैजसो पोलेको बिरामी तराई क्षेत्रबाट आउने प्लास्टिक सर्जनहरू बताउँछन्। ‘बर्न’को विशेष उपचार गर्ने दुई अस्पताल (कीर्तिपुर अस्पताल र सुष्मा कोइराला मेमोरियल अस्पताल)का अनुसार अधिकांश बिरामी प्रदेश २ वा तराई भेगबाट आउने गरेका छन्।
सुष्मा कोइराला मेमोरियल अस्पतालका डाइरेक्टर डा सन्तोषविक्रम भण्डारीका अनुसार जनकपुर, विराटनगर, वीरगञ्ज, सिरहा, सर्लाही तथा सप्तरीबाट अत्यधिक आगोले पोलेका बिरामी उपचारका लागि आउँछन्।
तराईमा सचेतनाको कमी भएकै कारण ‘बर्न’का बिरामी बढेको सर्जनहरूको दाबी छ। डा भण्डारी भन्छन्, ‘गरिब परिवारमा हिटर किन्ने हैसियत हुँदैन। उनीहरू चुल्होमा आगो बालेर ताप्न खोज्दा जलनको सिकार हुन पुग्छन्।’
नेपालमा आगोले पोलेको उपचार कमै अस्पतालमा मात्र सम्भव भएको हुनाले उपचार अभावकै कारण पनि बिरामीको ज्यान जाने डाक्टरहरू बताउँछन्।
‘काठमाडौं बाहिर घटना भयो भने काठमाडौं आउन नै ४/५ घन्टा वा त्यो भन्दा बढी समय लाग्छ। अन्य ठाउँमा अस्पताल नै छैनन्। यस कारण तराई क्षेत्रबाट उपचार गर्न बिरामी काठमाडौं ल्याइपुर्याउँदासम्म अवस्था गम्भीर भइसक्छ,’ प्लास्टिक सर्जन डा जश्वन शाक्य भन्छन्।
महिला, बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित
स्टाफ नर्स सुनिता अर्यालले कीर्तिपुर अस्पतालमा ४ वर्षदेखि ‘बर्न’का बिरामीलाई सेवा दिँदै आइरहेकी छन्। उनको अनुभवमा ‘बर्न’को केसमा महिला, बालबालिका तथा वृद्धवृद्धा नै बढी प्रभावित छन्। ‘बच्चामा धेरैजसो तातो पानीले वा कुँडोले पोलेका घटना हुन्छन्। महिलाहरू खाना बनाउँदा वा आगो ताप्ने क्रममा साडी वा कपडामा आगो सल्केर आउनुहुन्छ भने कोही सुत्केरीले बच्चा सेकाउने क्रममा आगो सल्केर आउनुहुन्छ,’ उनले भनिन्, ‘महिलामा पनि बढी तराईको हुनुहुन्छ।
वृद्धवृद्धा कमजोर हुने भएकाले आगो ताप्दा ख्याल नभएर पोलेका घटना बढी हुन्छन्। पुरुषहरू भने प्रायः करेन्ट लागेर आउने हुनुहुन्छ भने एसिड आक्रमण वा केमिकल बर्नका कारण आउनेहरू पनि हुनुहुन्छ।’
तराई भेगबाट दाइजोका कारण बुहारीलाई आगो लगाइने केसहरू पनि कहिलेकाहीँ आउने उनी बताउँछिन्।
पोलेका बिरामीमा २० प्रतिशतभन्दा बढी शरीर जलेको भएमा जोखिम बढी हुने डाक्टरहरू बताउँछन्। त्यसमध्ये पनि बालबालिकामा १० प्रतिशतभन्दा बढी पोलेमा जोखिम हुन्छ। नेपालमा सामान्यतयाः ४५ प्रतिशतसम्म भाग जलेको बिरामी बचाएको प्लास्टिक सर्जन डा शाक्य बताउँछन्। ‘४० प्रतिशतभन्दा बढी जलेको मान्छे बचाउन धेरै गाह्रो छ। अरु देशमा सम्भव भए पनि यहाँ छैन,’ डा शाक्य भन्छन्, ‘अत्यन्तै कम मात्रामा मात्र ४५ वा ५० प्रतिशत जलेको मान्छेलाई पनि बचाएका उदाहरण छन्। त्यसमा पनि घाउ कति गहिरो छ भन्ने कुराले अर्थ राख्छ।’
सचेतनाको कमीले घटना
नेपालका अधिकांश ठाउँमा सचेतनाको अभावका कारण आगलागी हुने डाक्टरहरू बताउँछन्। ‘नेपालमा यसको अवस्था भयावह छ। पूर्वाधारको कमी भएको ठाउँमा यस्तो अवस्था छ। जसको घरमा हिटर छैन उसले आगो बाल्नुपर्ने अवस्था छ। हिटर हुनेले हिटर बाल्छन्। निम्न आय वर्गका मान्छेलाई बढी जलन हुन्छ, ‘डा शाक्य भन्छन्, ‘गाउँघरमा चुलोमा खाना पकाउँदा बच्चाहरू चुलोमा गएर दाउरा समातेर धेरै घटना भएका छन्।’
आगोले पोलेपछि सर्वप्रथम के गर्ने भन्ने ज्ञानको अभावका कारण पनि समस्या जटिल बन्ने डाक्टरहरूको दाबी छ। ‘हामीमा पोलिसकेपछि पानी कसरी हाल्ने भन्ने ज्ञान पनि छैन। पोल्नेबित्तिकै हामी आत्तिएर अस्पताल लैजान खोज्छौं। त्यसले अवस्थालाई झन् गम्भीर बनाउँछ,’ डा शंकरमान राई सुझाउँछन्।
आगोले पोल्नेबित्तिकै अस्पताल लानुअघि के कुरामा ध्यान दिनुपर्छ? कीर्तिपुर अस्पतालमा कार्यरत प्लास्टिक सर्जन डा मनिष यादव भन्छन्, ‘आगोले पोलेका बिरामीलाई सबैभन्दा पहिले आगो निभाएर चिसो पानीले पोलिएको भागमा पखाल्नुपर्छ। पोलेको आधा घन्टाभित्र बगिरहेको पानीमा पोलेको भागलाई कम्तीमा २० देखि ३० मिनेटसम्म पखाल्नुपर्छ। यति भइसकेपछि नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ। अरु बिरामीजस्तो आगोले पाल्नेबित्तिकै अस्पताल लगिहाल्नु हुँदैन। ध्यान दिएर प्राथमिक उपचार गरेर मात्र लैजानुपर्छ।
हामीकहाँ पोल्नेबित्तिकै अस्पताल लगिहाल्ने चलन छ। त्यसो गर्दा आगोले पोलेको भाग चिसो भइसकेको हुँदैन। बाटोमा बिरामीलाई पानी पनि खुवाइएको हुँदैन। पानी चढाएको पनि हुँदैन। अस्पताल आइपुग्दासम्म ड्यामेज भइसकेको हुन्छ। त्यस्तो बिरामीलाई पाकेको छाला फ्यालेर नयाँ छाला सपोर्ट नै गर्दैन। इन्फेक्सन बढी हुने सम्भावना हुन्छ।
अर्को कुरा, पोलेको ठाउँमा फोका आयो भनेर आत्तिनुहुँदैन। फोका आउनु राम्रो हो। यसले छालाको सतही भागमात्र पोल्यो भन्न खोजेको हो। यदि गहिरो भयो भने फोका आउँदैन। फोका आउनु र दुख्नु राम्रो लक्षण हो।
नेपालमा छाला दानको सम्भावना
नेपालमा स्किन बैंक कीर्तिपुर अस्पतालमा छ। छाला बैंकमार्फत बिरामीको जलेको भागमा छाला राखिन्छ। ‘छाला मरेको मान्छेको प्रयोग गर्ने हो। कोही मानिसको मृत्यु भएको २ घन्टाभित्रमा उसको छाला निकाल्नुपर्छ र त्यही छाला बिरामीलाई प्रयोग गर्ने हो,’ डाक्टर शाक्य भन्छन्।
५ वर्ष अघिबाट छाला बैंकमार्फत कीर्तिपुर अस्पतालले दान गरेको छाला संकलन गर्ने गरेको छ। अहिलेसम्म २८ जनाको छाला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।
छाला दानको विषयमा पनि सचेतना जगानुपर्ने डाक्टरहरू बताउँछन्। ‘छाला निकाल्नु भनेको मासु नै निकाल्ने हो भन्ने कतिपयको बुझाइ छ,’ डाक्टर यादव भन्छन्, ‘छाला दान भनेको छालाको दुई वटा तह हुन्छ। भागलाई इपिडर्मिस भनिन्छ। तल्लो तह डर्मिस हुन्छ। इपिडर्मिसको पनि माथिल्लो भागको पनि एकदमै पातलो पत्र निकालिन्छ। त्यो निकाल्दा शरीरबाट रगत पनि आउँदैन।’
एउटा मान्छेको प्रायः शरीरअनुसार पेटको भाग, तिघ्रा, खुट्टा, हातबाट छाला निकाल्न सकिन्छ। ‘त्यति छाला निकाल्दा २ जना पोलेको मान्छेलाई हामीले कभर गर्न सक्छौं,’ डाक्टर यादवले भने। छाला १८ वर्षभन्दा माथिकाले दिन सक्ने उनी बताउँछन्।
चिसोमा कोइलाले पनि लिन्छ ज्यान
नेपालमा हरेक वर्षको जाडोमा हिटर वा कोइला बालेर सुत्दा निसास्सिएर ज्यान जाने घटना पनि दोहोरिइरहेका छन्। सावधानी नअपनाउनुले यस्ता घटना बढ्ने डाक्टरहरू बताउँछन्।
डाक्टरका अनुसार कोइलाबाट कार्बनडाइअक्साइड र कार्बनमोनोअक्साइड निस्कन्छ। त्यसले गर्दा अक्सिजनको मात्रा कमी हुन्छ। यस्तो केसमा अक्सिजनभन्दा त्यसको २ सय ४० गुणा बढी कार्बनमोनोअक्साइड हुन्छ। निसास्सिएको बिरामीलाई अस्पतालमा भेन्टिलेटरमा राखेर १०० प्रतिशत अक्सिजन दिनुपर्ने हुन्छ।
‘हिटर बालेर सुत्दा भेन्टिलेट हुन्न। झ्याल सबै लगाएर सुत्दा अक्सिजन पुग्दैन। आगो बालेपछि भएको पानी सुकाउँछ। अक्सिजनको मात्रा कम हुन्छ। अक्सिजन नपुगेर मानिसको मृत्यु हुन्छ,’ डा शाक्य भन्छन्।
गरिब बढी सिकार : डा जश्वन शाक्य
नेपालमा जलनका घटना एकदमै बढेर गएको छ। जाडोबाट बच्नका लागि हिटर नहुनेले आगो बाल्नुपर्ने अवस्था छ। निम्न आय वर्गका मान्छेलाई बढी जलन हुन्छ। गाउँघरमा चुलोमा खाना पकाउँदा बच्चाहरू चुलोमा गएर दाउरा समात्ने गर्दा पनि जल्ने सम्भावना हुन्छ।
जलनको उपचार एकदम महँगो हुन्छ। जब जलनको प्रतिशत बढी हुन्छ तब अस्पताल बसाइ पनि लामो हुन्छ। अस्पताल बसाइ लामो भएपछि खर्च पनि बढ्ने नै भयो। कम आय भएको बिरामीले कसरी सक्ला? अझ अस्पताल बसाइ, औषधि, बेड चार्ज, मल्टिपल अप्रेसन गर्नुपर्छ। यो कारणले गर्दा बर्नको उपचार महँगो हुन्छ।
एक पटक एउटा परिवारले छोरीलाई पोलेर अस्पताल ल्याएको थियो। आइसियुमा राख्नुपर्ने भयो। शरीरको धेरै प्रतिशत भाग जलेको थियो। बाँच्ने–नबाँच्ने ठेगान थिएन। उनीहरू गरिब थिए। उनीहरूले ‘हामीसँग पैसा छैन, मरे मर्छे, छोरी घर लैजान्छौं’ भने। अस्पतालले उपचार निःशुल्क गरिदियो तर बिरामी बाँच्न सकेन। अवस्था यस्तो दयनीय छ।
पोलेको बिरामी ठिक हुन धेरै समय लाग्छ। धेरै चरण पार गर्नुपर्छ। सामान्य पोल्यो भने त प्राथमिक उपचारले नै ठिक हुन्छ। यदि १५ प्रतिशतभन्दा बढी जलेको छ भने त उसलाई अस्पताल भर्ना गर्नुपर्छ। त्यो दोस्रो फेज हो। जलन धेरै प्रतिशत र गहिरो छ भने अस्पताल बसाइ नै ७ महिना हुन्छ। धेरै घाउ सफा गर्नुपर्छ, छाला टाँस्नुपर्छ। टाला नबस्दा दोहोर्याउँदै गर्नुपर्छ।
त्यसपछिको चरण भनेको फिजियोथेरापी। आगोले पोलेर छाला टाँसेको ठाउँमा केही पनि गरेन भने त्यो खुम्चँदै जान्छ। यो तेस्रो फेज हो। अर्को फेज भनेको साइकोलोजिकल ट्रम हो। राम्रो अनुहार भएको मान्छेको आगोले पोलेर अनुहार बिग्रियो। थर्ड फेजमा पनि गइसकेपछि चौथोे फेजमा जब उसले अनुहार हेर्छ ऊ डिप्रेसनमा जान्छ।