काठमाडाैं- कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले विमानस्थलको थर्मल स्क्यानरमा ज्वराेका बिरामी देखाए सिधै अस्पताल लैजानका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिए । उनका अनुसार यसअघि मन्त्रालयले विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा राख्न र ज्वरोका बिरामी भेटिए सिधै अस्पताल लैजानसमेत निर्देशन दिएकाे थियो।
चीन तथा कोरोनाका संक्रमित बिरामी भेटिएका देशबाट नेपाल आउने यात्रुसँगै भाइरस भित्रिन सक्ने खतरा बढेपछि विमानस्थलमा शंकास्पद बिरामीलाई सिधै अस्पताल पुर्याउन एम्बलेन्स तयारी अवस्थामा राखिएको मन्त्रालयले जानकारी दिएकाे छ। सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी बढाएको छ।
चीन तथा कोरोनाको संक्रमण भेटिएका देशबाट नेपाल आउने यात्रुसँगै भाइरस भित्रिन सक्ने खतरा बढेपछि विमानस्थलमा थर्मल स्क्यानर सञ्चालनमा ल्याइएको छ। उक्त स्क्यानरले विमानमार्फत् आएका यात्रुको ज्वरो नाप गर्छ। सो क्रममा ज्वरो देखिएका बिरामीलाई थप उपचारका लागि अस्पताल लैजाने व्यवस्था गरिएको छ।
थर्मल स्क्यानरले यात्रुहरुको शरीरको तापक्रम अटोमेटिक रुपमा परीक्षण गर्छ।
विश्व स्वास्थ्य संगठनको समन्वयमा ल्याइएको उक्त थर्मल स्क्यानरले शुक्रबारदेखि यात्रुको ज्वरो नाप्न थालेको हो।
स्क्यानर राख्नुअघि विमानस्थलमा रहेको हेल्थ डेस्कका कर्मचारीले संक्रमण देखिएका देशहरु चीन, जापान, अमेरिका, कोरिया, थाइल्यान्ड, सिंगापुर, मलेसियाबाट आएका शंकास्पद यात्रुको मात्र स्वास्थ्य परीक्षण गरिन्थ्यो।
तर, स्क्यानरबाट सेवा सुरु भएपछि सबै यात्रुको अटोमेटिक ज्वरो परीक्षण भइरहेको मन्त्रालयको भनाइ छ।