उत्तम पोखरेल
छिमेकी मित्रराष्ट्र चीनको वुहान सहरबाट गत डिसेम्बरको अन्तिम सातादेखि सुरू भएर संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) हालसम्म विश्वका १80 भन्दा धेरै देशमा फैलिसकेको छ। पहिलो संक्रमण देखा परेको देश चीनमा यसको प्रभाव कम हुँदै गइरहे पनि इटालीमा नराम्रोसँग फैलिरहेको छ र दिनदिनै सयौंको ज्यान लिइरहेको छ।
अमेरिका जस्तो सम्पन्न देशमा त कोरोना भाइरसको प्रकोपले ज्यान गुमाउनेहरूको संख्या दिन दुई गुणा रात चार गुणाको दरमा फैलिरहेको अवस्थामा नेपाल जस्तो गरिब देशमा यसको संक्रमण फैलिहालेमा अवस्था कस्तो होला? भलै नेपालमा बस्नेहरूलाई हालसम्म यसको संक्रमण नेदखिनु र विदेशबाट नेपाल आएकामध्ये २ जनामा मात्र देखिनु आफैंमा सुखद पक्ष हो। तर संक्रमण हुँदैन भनेर आवश्यक पूर्वतयारीमा ढिलासुस्ती गर्नु भनेको मूर्खता हो।
काठमाडौंस्थित सुक्रराज ट्रोपिकल तथा सरूवा रोग अस्पताल, टेकुमा यसको परीक्षण तथा उपचारको व्यवस्था भएको र अन्य केही अस्पतालहरूमा उपचारको व्यवस्था मिलाइएको नेपाल सरकारले प्रष्ट पारेको छ। काठमाडौं उपत्यकाभन्दा बाहेकका सरकारी अस्पतालहरूलाई आइसोलेसन कक्ष तयार गरेर उपचारको लागि तम्तयार रहन निर्देशन समेत भइसकेको छ।
हालसम्म काठमाडौं बाहिरका धेरै सरकारी अस्पतालले आइसोलेसन कक्षहरू बनाइसकेको र उपचारको लागि तयारी अवस्थामा रहेका समाचारहरु आइरहेका छन्। तर यदि प्रकोप फैलिएमा जिल्लाका आइसोलेसन शय्याहरू पर्याप्त छन् त? अवश्य पनि छैन। अझ कतिपय अस्पतालले त छुट्टै आइसोसेलन कक्ष बनाएका पनि छैनन्। विडम्बना उपचार गर्ने स्वास्थ्यकर्मीहरूका लागि मास्क, स्यानिटाइजर, ग्लब्स, गगल्स जस्ता सुरक्षा कवचहरू र कोरोना संक्रमणको आशंका गरिएका बिरामीहरूको लागि समेत अति आवश्यक पर्याप्त सामाग्री तथा उपकरण उपलब्ध छैनन्।
अस्पतालहरूमा आइसोलेसन बनाउने होडबाजी चलिरहँदा आइसोलेसन कक्ष भएका अस्पतालहरूमा समेत पर्याप्त शय्याहरू छैनन् अनि कोरोना आशंका गरिएका बिरामीको लागि ती कक्षहरूमा अक्सिजन, मोनिटर, स्यानिटाइजर, डस्टविन र मास्क जस्ता सामग्री र उपकरण पर्याप्त छैनन्।अझ भनौं कति अस्पतालसँग सामान्य सामग्री मास्क र ग्लब्स समेत मौज्दात छैन।
यस्तो अवस्थामा तयार भएको आइसोलेसन कक्षमा शंकास्पद बिरामी राखेर निगरानी/उपचार गर्न जिल्ला अस्पतालहरू सक्षम छन् त? अवश्य पनि छैनन्। जबसम्म सरकारले अस्पतालहरूलाई उपचारको लागि पर्याप्त सुरक्षा कबच (पिपिई) समय मै उपलब्ध गराउन सक्दैन, तबसम्म आइसोलेसन कक्ष भएर मात्र बिरामीलार्इ सेवा प्रदान गर्न सक्ने अवस्था छैन। यसको व्यवस्थापनको लागि सरकारले हिजो मात्रै पिपिई र औजार उपकरणका लागि विभिन्न देशसँग सहयोगको अपिल समेत गरेको खबरहरू आइरहेका छन्। यस्तो आपतको घडीमा छिटोभन्दा छिटो उपचारको लागि आवश्यक सामानहरू व्यवस्थापन गरी अस्पतालहरूलाई वितरण गर्न सकेमा मात्र नियन्त्रणमा केही सहज हुनसक्छ। सहयोग सामग्रीको संख्या र दाताको सवालमा पनि कूटनीतिक सन्तुलन कायम गर्ने जसरी धैर्य गर्नु हुन्न, जसले जति दिन्छ तत्काल लिई वितरण गर्नुपर्छ।
अर्कोतर्फ देशका सबै नाकाहरू बन्द र लामो दूरीका सवारी साधन चलाउन निषेध हुनु अगावै धेरै मानिसहले काठमाडौं उपत्यका छोडेका हुँदा कोही कतै संक्रमित भएको भए यसको संक्रमण काठमाडौं भन्दा पनि बढी उपत्यका बाहिरका जिल्लाहरूमा हुने र त्यसको पहिलो व्यवस्थापन जिल्ला अस्पतालहरूले गर्नुपर्ने हुँदा उपलब्ध सामग्रीहरू पनि जिल्ला/स्थानीय तहसम्म यथोचित वितरण हुनु पर्छ।
कोभिड-१९ को पूर्वतयारी गर्दा स्वास्थ्य सेवा प्रवाहमा खटिने स्वास्थ्यकर्मीहरूको सुरक्षा राज्यको प्राथमिकतामा हुनुपर्छ। उपचारका क्रममा स्वास्थ्यकर्मीहरू नै संक्रमित हुने र स्वास्थ्यकर्मीहरूबाट उनीहरूको परिवारका अतिरिक्त अन्य बिरामीहरूमा समेत सर्ने सम्भावना धेरै हुने भएकाले स्वास्थ्यकर्मीहरूका लागि पर्याप्त पिपई र प्रशिक्षणको व्यवस्था हुनुपर्छ
उपचारमा २४सै घण्टा खटिने स्वास्थ्यकर्मीका लागि हाललार्इ प्रोत्साहन/जोखिम भत्ता भन्दा पनि आफूलाई संक्रमणबाट जोगाउने मास्क, स्यानिटाइजर, ग्लब्स, गगल्स लगायतका सुरक्षा कवचहरू, आवश्यक प्रशिक्षण र आवश्यकता अनुसार थप स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न सके संक्रमण फैलिहालेमा यसको नियन्त्रण गर्न केही सहज हुनसक्छ।
(पोखरेल जिल्ला अस्पताल दोलखामा कार्यरत छन्)