काठमाडौं - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक ठूलो संख्यामा सिकलसेल एनिमियाको परीक्षण गर्दैछ। सिकलसेज जाँच्ने मेसिन भित्रिएपछि पहिलो पटक ५ हजार जनामा परीक्षण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालका अनुसार यो परीक्षण अभियान शनिबारदेखि सुरु हुनेछ। प्रतिष्ठानले करिब सिकलसेल एनिमिया भएका ३ सय १५ जनालाई औषधि उपचार सेवा प्रदान गर्दै आएको छ। जसमा एक वर्षदेखि ६५ वर्ष सम्मका व्यक्तिमा सिकलसेल एनिमिया भेटिएका छन्। एकै परिवारका चार जना सदस्यमा पनि सिकलसेल देखीएको उनले बताए।
धेरैजसो थारु समुदायमा यो रोग फेला परेको छ भने योगी र दलित समुदायमा पनि सिकलसेल देखिएको छ। अस्पताल निमित्त निर्देशक प्रा.डा जनार्दन पन्थिले दाङका १० वटै पालिकाका जनप्रतिनिधिहरुलाई राखेर अबदेखि प्रतिष्ठानमा सिकलसेल एनिमिया रोगको परीक्षण हुने जानकारी दिईएको बताए।
सिकलसेल एनिमिया परीक्षणका लागि बिरामीलाई यसअघि जिल्ला बाहिर जानुपर्ने भएपनि अब प्रतिष्ठानमा नै चेकजाँच हुने भएपछि बिरामीलाई उपचारमा सहजता हुने उनले बताए।
प्रतिष्ठानका रजिस्ट्रार लम्सालले सिकलसेल एनिमिया भए नभएको ५ हजार जना बालबच्चादेखि वृद्धसम्म सबैको जाँच गरेर हालको अवस्था बारे जानकारी लिन सकिने र भविष्यमा अध्ययन अनुसन्धान गर्न सहजता हुने बताए। साथै उनले सिकलसेल एनिमिया रोकथाम र नियन्त्रणको लागि निति तर्जुमा गर्न पनि यो कार्यले सहजता हुने बताए। विभिन्न अध्ययन अनुसन्धानमा प्लाज्मोडियम फ्याल्सिपेरम मलेरिया प्रचुर मात्रामा हुने ठाउँमा सिकलसेल ऐनिमिया देखिएको छ।