उसको अटोग्राफ लिन विलम्ब नगर्नुहोला।
किनभने, ऊ चाँडै मर्दै छ।
तेस्रो सहस्राब्दीकै महान् मान्छे हो ऊ, जसले आफूलाई अपूर्व उदारतापूर्वक लुटायो। लुटाउनुसम्म लुटायो। क्रिस्टोफर कोलम्बसजस्ता लुटेराहरुको सम्मुख परेको आदिवासी भूमिले जसरी लुटायो। बेपर्वाह लुटायो, बेहद लुटायो। लुटाउनमा यति पारङ्गत मान्छे यस गोर्खेभूमिमा पैदा हुनु ऐतिहासिक हिसाबले पनि खुद्रा उपलब्धि होइन।
आली लाउँदालाउँदै वा दाउरा चिर्दाचिर्दै वा नातिनी खेलाउँदाखेलाउँदै अकस्मात् ऊ गर्ल्याम्म ढलेको थियो। हुलुक्क एक मुठी रगत छादेर बेहोस भएको थियो। त्यसपछि तत्काल बसेको थियो, एउटा बूढो रुखमा गिद्धहरुको आकस्मिक कोणसभा।
थकाली गिद्धले किनोट स्पिच दिंदै भनेको थियो, 'मित्रगण ! अब यो मान्छे बर्बादीको महान् यात्रामा निस्कियो। महान् यात्रा; किनभने ऊमार्फत थुप्रै आवाद हुने छन्। बिरामी हुनु स्वयंमा त्यस महानतामा प्राप्त हुनु हो, जसले आफूमाथि लुट–शृङ्खला चल्न दिन्छ। सदरमुकामदेखि राजधानीसम्म हाम्रो अनन्त भोको मानवावतारी बिरादरीले खडा गरेको जो आरोग्य उपनिवेश छ एउटा, यो मान्छे अब त्यही उपनिवेशको सच्चा रैती भयो। आफूलाई लुछाउने तीर्थाटनमा उसको प्रस्थान भयो। यो सानो हर्षको कुरा होइन।'
उसको नाम महत्वपूर्ण छैन। नागरिकता वा मतदाता–सूचीमा ऊ को हो, त्यो महत्वपूर्ण छैन। बिरामी उसको सम्पूर्ण परिचय हो, जो महत्वपूर्ण छ। दिनलाई उसलाई जे नाम पनि दिन सकिन्छ।
जस्तो कि; फलानो। त्यसमा अलिकति ओज या गरिमाको ऐंजेरु जडिदिने हेतुले मिस्टर थपिदिऊँ। अब ऊ भयो, मिस्टर फलानो।
मिस्टर फलानोलाई आज हामी दिंदै छौं, वर्ष बिरामीको अवार्ड। ऊ यस खिताबको असली हकदार हो।
उसलाई के रोग लागेको हो ? त्यो महत्वपूर्ण छैन। कुन अङ्गमा लागेको हो ? त्यो पनि महत्वपूर्ण छैन। भनिदिऊँ, ऊ क्यान्सरको बिरामी हो।
उसको ठेगाना महत्वपूर्ण छैन।
हाल ऊ एउटा अस्पतालको शय्यामा लडिरहेको छ। हाललाई यति ठेगाना पर्याप्त छ। अस्पताल सरकारी हो या निजी, सो पनि महत्वपूर्ण छैन। बस, अस्पताल आफ्ना नैसर्गिक चरित्र र प्रवृत्तिसहित अस्पतालका रुपमा अवस्थित छ, उपस्थित छ। यति भनिसकेपछि आम मान्छेका सम्मुख उभिएको अस्पतालका लागि भयानक र भयङ्करजस्ता फुँदा गाँस्नु पनि गैरजरुरी भइहाल्यो।
आज चिकित्सा विज्ञानले अभूतपूर्व प्रगति गरेको छ। आविष्कारपछि आविष्कार भइरहेका छन्, आविष्कारउपर आविष्कार भइरहेका छन्। कसका लागि हो यो प्रगति ? यी आविष्कारहरु ? त्यसका लागि, केवल त्यसका लागि, जोसँग छ वित्तीय ताकत र मौद्रिक ल्याकत।
मिस्टर फलानोसँग त्यो ताकत छैन, त्यो ल्याकत छैन। त्यसैले ऊ महान् छ। यदाकदा विवशताले पनि महान् बनाउँछ।
अस्पतालको भर्याङमुनि मिस्टर फलानोको कुरुवा छ/छे। कुरुवाको साथमा रहेका फाटेको प्लास्टिकको म्याट, पुरानो न पुरानो थर्मस, मैलो पातलो ब्ल्यांकेट आदिले च्याँट्ठी–च्याँट्ठी बताइरहेका छन्, कि— मिस्टर फलानो सपरिवार निरीहताको रसातल भासिइसकेको छ। वर्ष बिरामीको उपाधिको ऊ यत्तिकै लायक भएको होइन।
जब–जब कुरूवाको हातमा औषधिको पुर्जी वा बिल पर्छ, ऊ मिस्टर फलानोको मृत्युको कामना गर्छ/गर्छे। यो सत्य होइन, कि— कुरूवा क्रूर, निर्दयी छ/छे। यत्ति हो, सापटी र ऋण माग्दा–माग्दा, असहाय हुँदा–हुँदा, अभावग्रस्त बन्दा–बन्दा ऊ थकित भइसक्यो/ भइसकी।
हाम्रो वर्ष बिरामीले रोगका नाममा गर्न बाँकी बलिदानी कुनै छैन। उत्सर्गको त्यस्तो कुनै मानक छैन, जसमा ऊ खरो नउत्रिएको होस्।
रोगका नाममा उसले एक–एक गरी सबथोक सक्यो। घर सक्यो, बारी सक्यो, खेत सक्यो। नगद, जिन्सी भएजति सक्यो। अब उसका नाममा कुनै लालपुर्जा छैन। बस, ओखतीमुलोका पुर्जी छन्, बिल छन्।
अब उसका आफन्त पनि बाँकी छैनन्। एक किलो स्याउ वा एक बट्टा हर्लिक्स लिएर वा खाली हातै भए पनि कोही आइदेओस्; उसले प्रतीक्षा गर्न भने छोडेको छैन।
मिस्टर फलानो अस्पतालको शय्यामा छ। र त, कसैले गाडी चढ्छ, कसैका छोराछोरी महँगो बोर्डिङमा पढ्छन्, कोही बैंकक घुम्न जान्छ, कोही मिठोमसिनो खान्छ, कोही घडेरी जोड्छ, कोही घर बनाउँछ।
यी सारालाई यति थोकको प्रबन्ध गरिदिने मिस्टर फलानो साँच्चै महान् हो। त्यसैले उसलाई वर्ष बिरामीको उपाधि प्रदान गरिएन भने हामी कृतघ्न र असभ्य ठहरिने छौं।
यो उपाधि ग्रहण गर्न आजको यस समारोहमा ऊ उपस्थित भने हुन सकेन। बडो खेदको विषय हो यो। तर, उसले ममार्फत एक्सेप्ट्यान्स स्पिच पठाएको छ। त्यसलाई पढ्ने अनुमति चाहन्छु : म, मिस्टर फलानो, आज धन्य भएँ। जीवनकै यस अहम् र आखिरी घडीमा म ती तमाम नामहरु बिर्सन चाहन्छु, जसले मलाई यसरी महान् बनाइदिए। मसँग अब धेरै समय बाँकी छैन। यति कामना गर्छु, मजस्तो मान्छेलाई महान् बनाइदिने यस्तो समयसँग पनि धेरै समय बाँकी नरहोस्। तर, मलाई थाहा छ, मेरो यस कामनाको कुनै अर्थ छैन। मैले बिर्सन चाहेका नामहरु यहाँहरुले भने हेक्का राख्नु जरुरी छ; नितान्त जरुरी छ। धन्यवाद !