काठमाडौं - कोरोना भाइरसको संक्रमणलाई जितेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट २७ दिनपछि डिस्चार्ज भएकी प्रसिद्धि श्रेष्ठले कोरोना बिरामीको उपचारका लागि आफ्नो रगतको प्लाज्मा दिन तयार भएको बताएकी छिन्।
अस्पतालबाट डिस्चार्ज हुने क्रममा उनले उक्त जानकारी दिएको अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले जानकारी दिए।
कोरोना भाइरसबाट संक्रमित भएर निको भएकाहरुको रगतको प्लाज्माले कोरोना भाइरसबाट संक्रमित भएका अरु बिरामीको उपचारमा सहयोग हुने विषयमा अहिले विश्वका धेरै देशमा अध्ययन भइरहेको छ।
प्रसिद्धिले पनि अरु बिरामीको उपचारका लागि आफू प्लाज्मा दान गर्न तयार रहेको बताएकी हुन्।
डा राजन शाहका अनुसार प्लाज्मा रगतको पारदर्शी पराल रङ्गको तरल भाग हो, जुन रातो र सेतो रक्त कोषिका तथा प्लेटलेट हटाएपछि हुने भाग हो। यसले मानव रक्तको ५५ प्रतिशत भाग ओगटेको हुन्छ। यसमा एन्टीबडीहरु हुन्छन्, जसले रोग विरुद्ध लड्न सहयोग गर्छ।
यसमा एन्टीबडिजको मात्रा धेरै हुन्छ, जसलाई गम्भिर संक्रमणको उपचार वा रोगथामका लागि प्रयोग गरिन्छ। जुन १०० वर्षभन्दा पहिलेदेखि प्रयोगमा आएको उपचार विधि हो। खोपहरुको आविष्कार हुनुभन्दा पहिले यो विधि डिप्थेरिया, पोलियो, दादुरा जस्ता रोगहरुमा सफलता पूर्वक प्रयोग गरिएको थियो।
'जव एक व्यक्ति कोभिड–१९ बाट संक्रमित हुन्छ, शरीरले उक्त भाइरस विरुद्ध लड्नका लागि एन्टीबडी भनिने प्रोटिनहरुको निर्माण गर्दछ। यसले भाइरसलाई मार्छ र शरिरमा एन्टीबडी प्रतिक्रिया कायम गर्दछ, जुन लगभग एक वर्षसम्म रहने अनुमान छ, उनले भने।
अहिले इटलीले संक्रमित भएर उपचारपछि निको भएकाहरु र कोरोना संक्रमण पोजेटिभ देखिए पनि उपचारै नगरी निको भएकाहरुको रगतको प्लाज्माबाट कोरोना संक्रमणविरुद्ध लड्न एन्टिबडी बनाइरहेको छ।
उनीहरुबाट बनाइएको एन्टिबडी अहिले कोरोना भाइरसबाट संक्रमित भएकाहरुमा राख्ने तयारी भइरहेको छ। यसले संक्रमितहरुलाई कोरोना भाइरसविरुद्ध लड्न सघाउने उनीहरुको विश्वास छ। लामो समयदेखि चिकित्सकहरुले स्वस्थ ब्यक्तिको प्लाज्मा अन्य रोगको संक्रमितहरुको उपचारमा उपयोग गर्दै आएका थिए।
नेपालमा पनि बिरामीको संख्या थपिँदै गएमा उपचारका लागि उक्त विधि अपनाउन सक्ने विषयमा छलफल भइरहेको छ। सो अन्तर्गत प्रसिद्धिको रगतबाट प्लाज्मा निकालेर अरु बिरामीमा उपचारका लागि प्रयोग गर्न सकिन्छ।
फ्रान्सबाट आएकी १९ वर्षीया श्रेष्ठ शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन्।
उनी फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन्। उनी गत चैत ४ गते नेपाल आएकी थिइन्। नेपाल आएपछि गरीएको परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।
त्यसपछि उनलाई चैत ९ गते अस्पताल भर्ना गरिएको थियो।
यो पनि :
प्लाज्मा थेरापी : १०० वर्ष पुरानो विधिले कोभिड–१९ को उपचारमा जगाएको आशा

प्लाज्मा रगतको पारदर्शी पराल रङ्गको तरल भाग हो, जुन रातो र सेतो रक्त कोषिका तथा प्लेटलेट हटाएपछि हुने भाग हो। यसले मानव रक्तको ५५ प्रतिशत भाग ओगटेको हुन्छ। यसमा एन्टीबडीहरु हुन्छन्, जसले रोग विरुद्ध लड्न सहयोग गर्छ।
कोभ्यालेसेन्ट प्लाज्मा भनेको रोग लागेर निको भइसकेको व्यक्तिबाट निकालिएको प्लाज्मा हो। यसमा एन्टीबडिजको मात्रा धेरै हुन्छ, जसलाई गम्भिर संक्रमणको उपचार वा रोगथामका लागि प्रयोग गरिन्छ। जुन १०० वर्षभन्दा पहिलेदेखि प्रयोगमा आएको उपचार विधि हो। खोपहरुको आविष्कार हुनुभन्दा पहिले यो विधि डिप्थेरिया, पोलियो, दादुरा जस्ता रोगहरुमा सफलता पूर्वक प्रयोग गरिएको थियो।
सन् १९१८ मा स्पेनिस फ्लू महामारी र हाल सालै सार्स र इबोलामा पनि यो थेरापीले मद्दत पुर्याएको थियो। अब यो विचारलाई कोभिड–१९ बाट संक्रमण भए अस्पतालमा भर्ना भएका बिरामी निको पार्न तथा जोखिममा रहेका स्वास्थ्यकर्मीलाई भाइरसबाट जोगाउन प्रयोग गर्न सकिन्छ।
जव एक व्यक्ति कोभिड–१९ बाट संक्रमित हुन्छ, शरीरले उक्त भाइरस विरुद्ध लड्नका लागि एन्टीबडी भनिने प्रोटिनहरुको निर्माण गर्दछ। यसले भाइरसलाई मार्छ र शरिरमा एन्टीबडी प्रतिक्रिया कायम गर्दछ, जुन लगभग एक वर्षसम्म रहने अनुमान छ।
कोभिड–१९ रोगबाट निको भइसकेको र कम्तिमा १४ दिनसम्म लक्षणमुक्त भएका व्यक्तिबाट प्लाज्मा संकलन गरिन्छ। त्यसपछि रगतको रातो र सेतो कोषहरुलाई छुट्याइन्छ र पुनः दाताको रक्त प्रवाहमा फिर्ता गरिन्छ। जबकी एन्टिबडिज सहितका प्लाज्मा रक्तक्षेपनका लागि राखिन्छ। निको भइसकेको व्यक्तिले प्रत्येक पटक ४०० मि.लि. गरी दूई पटकसम्म रक्तदान गर्न सक्दछ, जसले सम्भवतः २/३ जनाको जीवन बचाउँछ।
रक्तदाता र बिरामीको मिल्दो प्रकारको रगतको समूह हुनुपर्छ। त्यस पश्चात् कोभिड – १९, हेपाटाइटिस र एच.आई.भी. रोगहरुको परीक्षण गरिन्छ। कोभिड–१९ का बिरामीलाई प्रभावकारी रुपमा उपचार गर्न पर्याप्त एन्टीबडीहरु छन् वा छैनन् भनेर निश्चिताको लागि पुनः परिक्षण गरिन्छ र सो पश्चात बिरामीलाई रगत दिइन्छ।
खोपले पनि शरिरलाई यी एन्टीबडीहरु उत्पादन गर्न उक्साउछ तर, हाल कुनै खोपको आविष्कार नभएसम्म अहिलेको एन्टीबडीजका लागि सवैभन्दा उपयुक्त उपाय प्लाज्मा नै रहन्छ।
यस विधिका परिणाम आशाजनक छन्। मार्च २७ मा जर्नल अफ अमेरिकन मेडिकल एसोसिएशनमा प्रकाशित एउटा अध्ययनमा प्लाज्माले गम्भीर बिरामी भएकाहरूलाई सहयोग पुर्याउने केही प्रमाणहरू देखाएको छ। चीनका अन्वेषकहरूले रिपोर्ट गरेअनुसार कोभलेसेन्ट प्लाज्मा प्राप्त गरेपछि पाँचजना गम्भीर बिरामीहरू निको भएका थिए। अमेरिकामा एक अनलाइन साइट पनि दर्ता गरिएको छ, जहाँ कोभिड–१९ बाट निको भइसकेको व्यक्तिहरूले आफ्नो रगत दर्ता गर्न र दान गर्न सक्नेछन्।
चीन बाहेक इजरायल र अमेरिकाले पनि थेरापीबाट सकारात्मक नतिजा प्राप्त गर्न थालेका छन्। एफ.डी.ए.ले पनि गत शुक्रबार यो थेरापीलाई प्रयोगमा ल्याउन सकिने पूर्वानुमान गरेको छ। यद्यपि दान गर्न योग्य व्यक्तिहरूको खोजी गर्न सजिलो छैन। यो महंगो छ र ठूलो मात्रामा गर्न सकिदैन।
कोभिड–१९ का बिरामीहरूमा अहिले थुप्रै औषधिहरूको परीक्षण भइरहेको छ, तर यसको प्रभावकारिता सम्बन्धी कुनै ठोस प्रमाण छैन। कोरोना भाइरसको खोप तीव्र गतिमा विकास भएपनि हामी समक्ष पुग्न कम्तिमा एक वर्ष लाग्नेछ। यो भाइरसको उपचारका लागि उत्तम उपायको खोजी नभएसम्म र खोप उपलव्ध नभएसम्म कोभेलिसेन्ट प्लाज्मा एक प्रभावकारी विधिको रुपमा प्रयोगमा ल्याउन सकिन्छ।